विप्लव माओवादीका कारण फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने

maitrinews

काठमाडौँ । विप्लव माओवादीको आन्दोलन र असहमतिका कारण फागुन १४ गतेस्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने सम्भावना बढेको छ । सोही कारण पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ तर त्रिभुवन विश्वविद्यालय प्रशासनले भने यस विषयमा केही बताएको छैन ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको आज बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।
बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेको सहभागिता थियो । ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । सम्भवतः त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।