काठमाडौ। ६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गरेर पूर्वराजा ज्ञानेन्द्र शाहले जनताप्रति उत्तरदायी हुन नेताहरुलाई आग्रह गरेका छन्।
शाहले देशको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन् । शाहले मुलुकको मौलिक दर्शन, संस्कार र सभ्यताको संरक्षण गर्दै मर्यादित बनाउनु नै राष्ट्रको प्रतिष्ठा भएकोमा जोड दिएका छन्।
यसैवीच शाह पत्नी कोमल शाहको जन्मदिन मनाउन शुक्रबार चितवन पुगेका छन् । अपरान्ह चितवनको भरतपुर बिमानस्थलमा उत्रिएका पूर्वराजा दम्पत्तिलाई समर्थकहरुले स्वागत गरेका छन् ।
दुई दिन चितवनको मेघौलीमा बिताउन आएका पूर्वराजा दम्पतीलाई भरतपुर विमानस्थलमा राजावादीहरुले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाउँदै ब्यानर टाँगेर स्वागत गरेका थिए ।
पूर्वराजा शनिबारसम्म चितवनमै रहनेछन् । उनका सवारी चालक सुदन थापाले दिएको जानकारी अनुसार आइतवार उनी पुनः बारा र्फकनेछन् । बा ४ च ३८०७ नम्बरको पजेरो गाडी आफैंले चलाएर पूर्वराजा ज्ञानेन्द्र भरतपुर विमानस्थलबाट बाहिरिएका थिए ।
आरामका लागि भरतपुर गार्डेन रिसोर्ट जाने क्रममा उनले चौबीस कोठीमा भेला भएका समर्थकहरुलाई गाडीबाट ओर्लेर अविवादन गरेका थिए ।
त्यहाँ उनले समर्थकको स्वागतका रुपमा फूलमाला ग्रहण गरेका थिए । गार्डेन रिसोर्टमा पनि उनले चितवनका राजनीतिक दलका नेताहरुसँग भेट गरेका छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रवार ।