क्यालिफोर्नियाको भीषण आँधीमा थुप्रै घाइते

maitrinews

Californiya

वासिङ्गटन। अमेरिकाको क्यालिफोर्नियामा भीषण आँधी आएको छ। भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित बनेको छ।

बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ । लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । अझै तीब्र गतिमा हावा चल्ने, ठूलो वर्षा हुने र बाढीको खतरा रहेको मौसमविदहरुले भनेका छन् ।

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सयभन्दा बढी उडान रद्द गरिएका छन् । यस्तै मूख्य सडकमार्ग पनि बन्द भएको छ। बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् । वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन् ।

पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन् । यसै हप्तामात्र ठूलो पानीका कारण उत्तरी क्यालिफोर्नियाकै ओरोविल बाँध फुट्ने आशंकामा करिब दुई लाख मानिसलाई अन्यत्र सारिएको थियो ।(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।