७६ वर्षीय उत्सवनारायणको उदाहरणीय समाजसेवा

 

वीरगन्ज । वीरगन्ज कारागरभित्र आज अपरान्ह्र छुट्टै माहोल थियो । न त पञ्चै बाजा, न त खाने महँगा परिकार नै थिए ।
एक हुल युवा, केही समाजसेवी र गिनेचुनेका सञ्चारकर्मीमाझ वीरगन्ज उपमहानगरपालिका– १५ बस्ने ७६ वर्षीय उत्सवनारायण र ७० वर्षीया पत्नी चन्द्रिकादेवीले कारागारभित्र रहेका समता स्कुलका ९० विद्यार्थीलाई करिब रु एक लाख मूल्य बराबरका कापी, कलम झोला र टिसर्ट दिएर आफनो ५७ औंँ वैवाहिक वार्षिकोत्सव मनाउनुभयो ।
तडकभडक र फजुल खर्च गर्नुभन्दा विद्यार्थीलाई पठनपाठनमा सहयाग गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने ठानी मानन्धर दम्पतीका छोरा उमेश र रमेशले सो साइत जुराइदिएका थिए । सो अवसरमा उपस्थित कानुन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी र आफन्तले मानन्धर दम्पतीको सुखमय जीवन तथा दीर्घायुको कामना गर्नुभएको थियो ।