संविधान कार्यान्वयन नभए देश गम्भीर संवैधानिक संकटमा पर्छ : महासचिव,पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरलेले ०७४ माघ ७ भित्रमा संविधान कार्यान्वयन भए देशमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । मैत्रीन्युज डटकमसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, एमालेको जोडबोल अहिले पनि संविधान कार्यान्वयन गर्ने भन्नेमा नै छ । एमालेको जोडबललाई टार्न नसकेर सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले वैशाखसम्ममा भए पनि निर्वाचन गर्ने मौखिक कुरा त गरेको छ । तर, अहिले जुन खालको आलटल सत्ता गठनबन्धनले गरिरहेको छ । म फेरि पनि भन्न चाहन्छु । यो निर्वाचन टार्ने नियत हो ।
०७४ माघ ७ सम्ममा हामीले संविधान कार्यन्वयन गर्न सकेनौँ भने गम्भीर संवैधानिक संकट देशमा उत्पन्न हुनेछ र पहिलाको भन्दा पनि भयावह अवस्था सिर्जना हुनसक्छ भन्दै महासचिव पोखरेलले भन्नुभयो, त्यतिबेला के–हुन्छ भन्न सकिन्न । त्यसैले सबै राजनीतिक दहरुले त्यो अवस्थाको पनि ख्याल गर्नुपर्छ । विदेशीको बुइ चढेर देशलाई संवैधानिक संकटमा लैजाने अधिकार कसैलाई पनि छैन । हामी यसलाई किमार्थ स्वीकार गर्न सक्दैनौँ । हामीले त संविधानसभाको पहिलो निर्वाचनपछि जुन खालको संवैधानिक संकट देखा परेको थियो त्यस्तो अवस्था फेरि नदोहोरियोस् भन्नका लागि नै निर्वाचन गरौँ भनिरहेको हो । म सत्ता गठनबन्धन दललाई आग्रह गर्न चाहन्छु । यसरी आलटाल गर्ने र निर्वाचन नै धकेल्ने कुराले देशलाई फाइदा पुग्दैन । निर्वाचनमा जानुको अर्को विकल्प छैन । हामी निर्वाचनमा जानुपर्छ । मैदानमा पुगेपछि हारजितको सामना गर्न सक्नुपर्छ । हामी कमजोर हुने हौँ कि भनेर निर्वाचनसँगै डराएर भाग्ने कुरा उचित होइन ।
‘आफू कमजोर हुन्छु भनेर निर्वाचन नै नगर्ने कुरा किमार्थ राम्रो कुरा होइन । त्यसो त माओवादीले अनन्तकालसम्म जित्ने अवस्था नआउला के कहिल्यै पनि निर्वाचन नगर्ने त ? त्यस्तो हुँदैन । चुनावी मैदानमा जाऔँ । हारजित स्वीकार गर्न तयार होऔँ । ९० प्रतिशत बढीले हस्ताक्षर गरेर जारी गरेको संविधान कार्यान्वयन गर्ने हाम्रो पहिलो दायित्व हो । हामी सबै यसैमा केन्द्रित हुनुपर्छ । कुनै पनि पार्टीको लोकप्रियता देखेर चुनावबाटै भाग्ने, देशलाई नै संवैधानिक संकटमा फसाउने भन्ने कुरा त कसरी ठीक मान्न सकिन्छ र ? अरु कुनै पार्टी लोकप्रिय छ भनेर निर्वाचनमै नजाने, संविधान कार्यान्वयनलाई नै अवरोध गरेर संवैधानिक संकट उत्पन्न गर्ने भन्ने कुरा त मूर्खतापूर्ण कुरा हुन् । यस्ता मूर्खतापूर्ण कुरा गरेर देशलाई नै संकट पार्ने कुरा जायज हुनै सक्दैन । दलहरुका छुद्र स्वार्थका कारण निर्वाचन नै नगर्ने कुराले संवैधानिक संकट आउन सक्छ । त्यसले देशलाई मात्र होइन दलहरुलाई पनि संकट पैदा गर्छ ।’ महासचिव पोखरेलको तर्क थियो ।
उहाँले भन्नुभयो,एमालेलाई वद्नाम गर्नका लागि अहिले विभिन्न खाले कुप्रचार भैरहेको छ । त्यो भ्रमलाई चिर्न एमालेले राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो । एमालेले राष्ट्रहित विपरीतको संविधान संशोनको विरोध गर्दै आएको छ । तर, एमालेले निर्वाचनसम्वन्धि कानुन र विद्येयकहरु अघि बढाउन अवरोध गरेको छैन । अहिले पनि एमालेले पटक–पटक निर्वाचनसम्वन्धि ऐन र विद्येयकलाई अघि बढाउँ भनिरहेको छ । हामीले संशोधन प्रस्ताव राष्ट्रहित विपरीत, राष्ट्रिय अखण्डता विपरीत र सामाजिक सद्भाव विथोल्ने खालको छ भन्दै आएका छौँ । त्यति मात्र होइन हामीले यो प्रस्ताव सामाजिक सद्भावको जगमा टिकेको राष्ट्रिय एकतालाई खलवल्याउने र जनहित विपरीत छ भन्दै आएका छौँ । यो सविधान र राष्ट्रियहित अनुकुल पनि छैन । हामीले यही भन्दै आएका छौँ । हामीले यही कुरामा मात्र विरोध गरेको हो । यो बाहेक कुरामा हामीले विरोध गरेका छैनौँ । हामीले वेमौसमको प्रस्ताव उहाँहरुले ल्याएका कारण विरोध गरेको हो । अभियानका क्रममा हामीले यही जानकारी जनतालाई दिने छौँ । यो संविधान अनुरुप छैन । जनभावना अनुरुप छैन । एमाले मात्र होइन यो प्रस्ताव कसैको पनि हितमा छैन । यति हुँदाहुँदै पनि यो प्रस्ताव कसका लागि ल्याइयो ? यो कुरा सञ्चारमाध्ययमले पनि थाहा पाएको छ । हामीले पनि थाहा पाएका छौँ । यसको अझ गहिराइमा गएर खोज्नुपर्ने भएको छ । यो नेपाल र नेपाली जनताको एजेण्डा होइन ।