सरकारी कार्यशैलीकै कारण विकास हुन सकेन : शर्मा

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र प्रक्रियाका नाममा विकास निर्माणको काममा ढिलाई गर्ने प्रवृत्तिले राष्ट्रको समृद्धि रोकिएको बताउनुभएको छ । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारी निकायकै कार्यशैलीका कारण विकासको कामले गति लिन नसकेको स्वीकार गर्नुभएको हो ।
‘हुन त म मन्त्री हुँ, तर सरकारी क्षेत्रबाट भएको कमजोरी लुकाउदिन, विधि र प्रक्रियाका नाममा विकास कार्यमा ढिलाई गर्ने प्रवृत्ति छ’ मन्त्री शर्माले थप्नुभयो ‘यस्तो कार्यशैली नत्यागेसम्म देश विकासले कदापि गति लिदैन ।’ आफुले ऊर्जा मन्त्रालयमा ढिला ढाला गर्ने प्रवृत्ति थोरै भएपनि सच्याएको कारण जनताको पक्षमा केही काम गर्न सकिएको उल्लेख गर्नुभयो । ‘विधि र प्रक्रिया विकासको गतिलाई तीब्र पार्ने साधन बन्नुको सट्टा काममा ढिलाई गर्ने र अनुचित लाभ उठाउने हतियार बनेका छन् जसको कारण राष्ट्रको समृद्धि रोकिन गएको छ’ उनले भने ।
‘यो मुलुकमा ७४ किलोमिटर विद्युत प्रसारण लाईन बन्न १८ वर्ष लाग्छ, एउटा हाइड्रो पावर प्रोजेक्टको डिपिआर बन्न ७ वर्ष लाग्छ, अनि कसरी हुन्छ देशको विकास ? उनले भने ‘मैले मेरो मन्त्रालयमा यो शैली त्याग्न नीतिगत र व्यवहारिक दुवै हिसावले काम अघि बढाएको छ ।’ मन्त्री शर्माले देश विकासको पहिलो आधार विद्युतीकरण भएकोमा जोड दिँदै जलविद्युत आयोजना निर्माण ध्यान केन्द्रीत गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । मुलुकका कतिपय विज्ञहरुलाई बिद्युत कहाँ बेच्ने भन्ने चिन्ताले सताएको कारण पनि जलविद्युत उत्पादनको कार्य सुस्ताएको तर्क गरे ।
नेपालको विद्युत बाहिर बेच्ने नभई स्वदेशमै खपत गर्ने सोचाई बनाए मात्र देशलाई औद्योगिकरणको दिशामा अघि बढाउन सकिने उनको भनाइ छ । औद्योगिकरण नै समृद्धिको आधार भएकोले त्यस्तो आधार तयार गर्न विद्युतीकरण आवश्यक रहेको उनले बताए ।