अमेरिकामा गैरकानुनी रुपमा बसेका १ करोड १० लाख आप्रवासी हटाउन १० हजार नयाँ कर्मचारी खटाइँदै

 

अमेरिका । अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फर्काउन नियमहरु कडा बनाउनुका साथै १० हजार अध्यागमन कर्मचारीहरु नियुक्त गर्न लागिएको अधिकारीहरुले बताएका छन्।
नयाँ योजना अनुसार सीमामा गस्ती गर्न थप ५ हजार जनाको नियुक्ति गरिनेछ।
राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाबाट उनीहरुकै देश फर्काइनुपर्ने आप्रवासीहरुको दायरा विस्तार गर्ने समेत निर्णय गरेको छ।
विश्लेषकहरुले उक्त अवधारणा अन्तर्गत अमेरिकामा रहेका १ करोड १० लाख मध्ये अधिकांश गैरकानूनी ढंगले बसिरहेका आप्रवासी गिरफ्तारीमा पर्न सक्ने जनाएका छन्।

राष्ट्रपति ट्रम्पको प्रशासनले गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने नियममा कडाइ र विस्तार गर्दै त्यसको द्रुत कार्यान्वयन गर्ने बताएको छ।
नयाँ निर्देशिकाले आप्रवासीहरु सम्बन्धी कानूनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिएको छ।
पछिल्लो नियम अनुसार ट्राफिक नियमको उल्लंघन वा कुनै विक्री केन्द्रमा राखिएका सामग्री चोरी गर्नेहरुलाई कागजपत्र नभएका अप्रावसीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ।