साढे चार वर्षका बालक निस्पल अधिकारीले गरे संसारको अग्लो पैदलयात्रा

nishpal4

काठमाडौँ । साढे चार वर्षका नेपाली साहसिक बालक निस्पल अधिकारीले संसारको अग्लो पैदलयात्रा सम्पन्न गरेर सबैलाई आश्चर्यमा पारेका छन् । अत्यन्तै जोखिम र कठिन मानिने अन्नपूर्ण पदमार्गको यो यात्रा उनले १३ दिनमा पूरा गरी सबैलाई आश्चर्यमा पारेका हुन् । बुवा निपेश ढाका र आमा लक्ष्मी चापागाईँका साथमा उत्साहका साथ पैदलयात्रा सम्पन्न गरेका उनको यो साहसिक पैदलयात्रा गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउने प्रक्रिया सुरु भएको छ ।
उनले २०७२ साल असोज २० गते यो यात्रा शुरु गरेका थिए । काठमाडौँबाट लमजुङको धारापानीसम्म गाडीमा गएका निस्पलले त्यहाँबाट पैदलयात्रा सुरु गरे । बुवा र आमाका साथ उनी त्यहाँबाट चामे, मिसाङ,मनाङगाउँ,सिरिखर्क,तिलिचो ताल,याकखर्क, लेडार, थोराङफेदी, थोराङलापास,मुक्तिनाथ,कागवेनी,जोमसोम,तातापानी हुँदै बेनीसम्म पैदलयात्रा गरे । त्यसपछि बेनीबाट पोखरा भने गाडीमा फर्के । पोखरा फर्केपछि उनले त्यहाँ प्याराग्लाइडिङसमेत गरी त्यसकोसमेत मज्जा लिए ।
अन्नपूर्ण पदयात्रा पूरा गर्न करिब १५ दिन लाग्छ तर उनले १३ दिनमा यो यात्रा पूरा गरी नयाँ विश्वकीर्तिमान कायम गरेका छन् । यति सानो उमेरका बालकाबालिका कसैले पनि अन्नपूर्ण पदयात्रा सम्पन्न गरेका छैनन् ।
उनी संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्दा त्यहाँका तापक्रम माइनस १०—१२ डिग्री सेल्सियस थियो । तिलिचो ताल ४ हजार ९८५ मिटर उचाइमा रहेको छ । तिलिचो तालमा पुग्दा निस्पल झन् उत्साहित र रोमान्टिक बने । उनलाई चिसो र लेक लाग्ला कि भन्ने चिन्ता ढाका दम्पतीलाई थियो तर कुनै समस्याले छोएन । सायद प्रकृतिले नै उनलाई शक्ति दियो यात्रा सफल बनाउन ।

nishpal
विश्वको अग्लो पैदलमार्ग थोराङलापास पुग्दा त उनी झन् उत्साहित बने । त्यहाँ पुग्न निकै कठिन छ । बाटो साँगुरो र अत्यन्तै जोखिमपूर्ण छ तर पनि उनले सहजै पार गरे थोराङलापास । थोराङलापास ५ हजार ४१६ मिटर उचाइमा रहेको छ । त्यहाँको तापक्रम माइनस १५ —१६ डिग्री सेल्सियस थियो । २०७१ सालमा त्यहाँ हिमपहिरो जाँदा नेपाली र विदेशी गरी ६० जना पर्यटकको ज्यान गएको थियो ।
निस्पलको जन्म २०६८ साल बैशाख २४ गते गण्डकी अञ्चलको कास्की जिल्ला,धिताल—८, अस्तान गाउँमा भएको हो । अहिले उनी ललितपुरको आईडीएल मोडल उच्चमावि,धोबीखेलमा यूकेजीमा पढ्दै छन् । उनको पढाइ राम्रो छ । असाध्यै ज्ञानी छन् उनी । रोटी,तरकारी,फलफूल,जुस उनलाई मन पर्छ । घुमफिर,खेलकुद,गीत सङ्गीतमा पनि उनको रुचि छ । कार्टूनहरु हेरेर रमाउँछन् । सरसफाइमा जोड दिन्छन् उनी । जहाँतहीँ फोहर फाल्दैनन् डस्बिनमा मात्र फोहर फाल्ने गर्छन् । २०७३ साल जेठ ६ गते नेपालका ३६५ जना कलाकारले एकैदिन गाएर विश्व रेकर्ड कायम गरिएको गीत ‘मिलान कोली’ मा गाउने सबैभन्दा साना कलाकार पनि निस्पल नै थिए ।
बावु ढाका वातावरणविद् भएका कारण निस्पलले अढाइ वर्षको उमेरमै नर्वे,इटाली,फ्रान्स,स्विट्जरल्यान्डलगायत नौ—दशवटा युरोपेली देश घुम्ने अवसरसमेत पाइसकेका छन् । उनी राम्रो वातावरणविद् बनी नेपालको मौलिकता,कला,संस्कृति र परिवेश बुझ्न सकोस् भन्ने चाहना ढाकाले राख्नु भएको छ ।
निस्पलको अन्नपूर्ण पदयात्रका सम्बन्धमा ढाका भन्नुहुन्छ, ‘म हिमाली जनजीवनको साथै पर्यापर्यटन र हिमाली जैविक विविधताको अध्ययनका लागि मनाङ जाने योजनाका साथ सुरु गरेको यात्रा अन्ततः अन्नपूर्ण पदयात्रामा परिणत भयो । साढे चार वर्षको बालकका साथ सुरु गरिएको यो यात्रामा समस्या आउँछ कि, बाटोमा बाबु बिरामी पर्छ कि वा रोई कराई दुःख दिने हो कि भन्ने हामी दम्पती चिन्तित थियौँ र अत्यन्तै संवेदनशील पनि बनेका थियौँ तर प्रकृतिले साथ दियो । कुनै समस्या परेन ।’
‘समग्रमा सानो बालकसहितको यो पैदलयात्रा नै चुनौतीपूर्ण थियो । अझ् बढी चुनौती र अप्ठेरोचाहिँ तिलिचो ताल पुग्दा भयो । बाटो अत्यन्तै साँधुरा र डरलाग्दो भीर,माथिबाट अबिरल ढुङ्गा खस्ने,तल मस्र्याङ्दी मुहानको निमिट्यान्न आवजमात्र सुनिन्थ्यो । यस्तो कठिन यात्रामा पनि बाबुले दुःख दिएन, झन् रोमान्टिक र खुशी भयो । जति जति माथि गयो उति उति खुसी र फूर्ति आयो बाबुमा । खाँदै, रमाउँदै हिँड्यो । पदयात्रीले बाटोमा यत्रतत्र फालेका फोहरवस्तु देखाउँदै भन्थ्यो—बाबा, कस्ता फोहोरी मान्छे जताततै फोहोर,डस्बिन पनि छैन ? यो त अलौकिक जस्तो लाग्छ ।’ यात्राको अनुभव सुनाउनुभयो ढाकाले ।

nishpal2

nishpal3