शेयरको गिरावट कायमै, सुधार भएन

काठमाडौं,फागुन १५गते । शेयर बजारमा आउन थालेको गिरावट यो सातापनि कायमै रहेको छ । विगत केही महिनायता निरन्तर आएको गिरावटले अघिल्ला साताहरुमा जस्तै यो साता पनि निरन्तरता पाएको हो ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१.८९ अंकले घटेर अन्तिम दिन १३३७.४६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७.२८ अंकले घटेर २९०.८८ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २८०६८ कारोबारबाट दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६.४३ प्रतिशत बढि हो । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरका ७९ लाख सात हजार सात सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (१४ करोड ८८ लाख ६० हजार रुपैयाँ) को आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ८४ हजार कित्ता) को आधारमा एनआइवीएल सम्वृद्धी फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१५२९ वटा) को आधारमा बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।