नयाँ शक्ति र संघीय फोरम नेपालसहित ३० दललाई जरिबाना

काठमाडौँ,फागुन १५ गते ।  निर्वाचन आयोगले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै १ सय रुपैयाँ जरिबाना तिराउने भएको छ ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना जारी गर्दै निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने ११ राजनीतिक दल र पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका १९ राजनीतिक दललाई १ सय रुपैयाँ जरिबाना तिराउने बताएको छ ।
उनीहरुलाई जरिबाना तिर्न एकसाताको म्याद दिइएको छ । 
भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले समयमा आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेपछि आयोगले स्पष्टिकरण मागेको थियो । आयोगमा उनीहरुले बुझाएको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएपछि जरिबाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ ।
“निर्वाचन आयोगको मिति २०७३÷११÷११ को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १२ बमोजिम निर्धारण गरिएको म्यादभित्र आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना किन  नगर्ने ? जरिबाना गर्नु नपर्ने कुनै आधार कारण भए खुलाई मिति २०७३÷११÷१४ सम्म स्पष्टिकरण पेश गर्न सूचना प्रकाशित गरिएकोमा निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने तथा पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका देहायका राजनीतिक दलहरुलाई आयोगको मिति २०७३÷११÷१४ को निर्णयाअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना गरिएको छ,” निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ ।
त्यसैगरी सूचनामा थप भनिएको छ, “उक्त जरिबाना रकम यो सूचना प्रकाशन भएको मितिले सात दिन (मिति २०७३÷११÷२१) सम्ममा कान्तिपथ काठमाडौंस्थित निर्वाचन आयोगको सचिवालयमा बुझाउनु हुन सूचित गरिएको छ ।”