लिभिङ टुगेदरले जन्माएका चुनौतीहरु
—सुधा काफ्ले

केही दिनअगाडि २३ वर्षीया सुमिना (नाम परिवर्तन) गरेकी युवती पंक्तिकारसमक्ष आइपुगिन् । उनी विगत डेढ वर्षदेखि राकेश नाम गरेका पुरुषसँग एउटै कोठामा बस्दै आएकी रहिछन्, सहमतिअनुसार । सुमिनाको घर काठमाडाैंमै रहेछ भने राकेशको घर झापा । एउटै कलेजमा पढ्ने राकेश र सुमिना चिनजान बढेपछि विस्तारै एकअर्काप्रति आकर्षित हुन थालेछन् ।

राकेशले एक दिन सुमिनालाई तिम्रो घरबाट कलेज आउन–जान गाह्रो भो, बरु हामी कतै एउटै डेरा लिएर बसौं, भाडा आधा–आधा तिरौंला भनेपछि सुमिनाले राकेशको प्रस्ताव स्वीकार गरिछन् र दुवैजना सँगै बस्न थालेछन् । सुरुसुरुमा त दुवैजना एकदम मिलेरै बसेछन् र सम्बन्ध पनि राम्रै रहेछ । केही समयपछि दुईजनाबीच शारीरिक सम्बन्ध हुँदै गयो र सुमिना गर्भवती भइन् । पढ्न बसेका दुवैका लागि त्यो अवस्था एकदमै अप्ठ्यारो थियो ।

त्यसै क्रममा विस्तारै राकेश विभिन्न बहानामा घर आउन छोडे, कहिलेकाहीं आउँदा पनि राकेश सुमिनासँग झगडा गर्ने र उनलाई कुटपिट गर्दा रहेछन् । सोही क्रममा सुमिना साह्रै बिरामी परिन् र उनकोे बच्चाको गर्भमै मृत्यु भयो । त्यसपछिको सम्बन्ध फेरि केही सुध्रियो र पुनः उनी गर्भवती भइन् र त्यही कुटपिटको चक्कर सुरु भयो । अन्त्यमा राकेशले उनलाई डेराबाट निकालिदियो । अब सुमिनाको सहारा भनेको परिवार नै थियो, यही क्रममा उनले आफ्नो अवस्था र राकेशको बारेमा परिवारलाई जानकारी दिइन्, तर सुमिनाको परिवारले उनलाई खोजखबर केही गरेन, उल्टै ‘तैंले हामीलाई सोधेर सम्बन्ध बनाएकी थिइस् र अहिले आएर सोध्छेस्’ भने । यसपछि उनी बेसहारा बनिन् ।

कतैबाट पनि सहयोग नपाएपछि अन्त्यमा उनले राकेशको विरुद्धमा प्रहरीमा उजुरी दर्ता गरिन् । प्रहरीले कार्यालयले राकेशलाई झिकायो । सुरुमा त राकेशले सुमिनालाई आफूले चिन्दा पनि नचिनेको भनेपछि सुमिनाले राकेशसँग बसेको घरको मालिकलाई बुझिपाऊँ भनेपछि राकेश झस्कियो र दुईतीनपटकको कुराकानीपछि मुस्किलले राकेश सुमिनालाई पाँच लाख रुपैयाँ दिन राजी भयो । तर सुमिनालाई स्विकार्न तयार भएन । केही नहुनुभन्दा पाँच लाख लिएर आफ्नो पढाइलाई निरन्तरता दिने र पेटको बच्चालाई पनि जन्म दिने विचार सुमिनाले गरिन् । उनी अहिले एक्लै बस्छिन् ।

अर्की युवती जमुना (नाम परिवर्तन) पनि आफ्नो मन मिल्ने साथी पवनसँगसँगै बस्न थालिन् विस्तारै उनी पनि गर्भवती भइन् । बच्चा गर्भमा आएपछि वैदेशिक रोजगारको लागि भनेर बाहिर गएको उनको पार्टनर हाल छोरा नै १३ वर्ष भइसक्दा पनि अत्तोपत्तो छैन । यी त प्रतिनिधि घटना मात्र हुन्, यस्ता घटना समाजमा खोतल्दै जाने हो भने अनगिन्ती भेटिन्छन् । वास्तवमा विवाह नगरी पतिपत्नीजस्तो भएर एउटै कोठामा लामो समयसम्म बस्ने परिपाटीलाई लिभिङ टुगेदर भनिन्छ ।

जहाँ केटा र केटी सामाजिक परम्परागत विवाह र कानुनी विवाह नगरीकनै एउटै कोठामा पतिपत्नीको रूपमा बसोवास गरिरहेका हुन्छन् । खासगरी सहरी क्षेत्रमा बसोवास गर्ने युवावर्ग बढी मात्रामा यो सम्बन्धमा रहे/बसेको पाइन्छ । कानुनी र सामाजिक बन्धन र दायित्वबाट पन्छिनको लागि उनीहरू लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । प्रत्येक व्यक्तिलाई आफ्नो जीवन सम्मानपूर्वक बाँच्न पाउने हक हुन्छ भनी संविधानले नै प्रत्याभूत गरेको अवस्थामा खासगरी शिक्षित वर्ग आफ्नो वैयक्तिक स्वतन्त्रताको उपभोग गर्दै यस्तो सम्बन्धमा बाँच्न रुचाउँछन् भने कोही पार्टनरको बहकाउमा आएर सँगै बस्ने गर्दछन् ।

यस्तो सम्बन्धमा बसेकाहरूको कानुनी हैसियत कस्तो हुने र नेपालमा यस सम्बन्धमा कस्तो कानुनी व्यवस्था छ भन्नेबारेमा धेरैलाई जानकारी पनि छैन । किनकि हामीसँग त्यसरी लिभिङ टुगेदरमा बसेकाहरूको कस्ता खालको अधिकार र कर्तव्य हुने, त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चाको कानुनी हैसियत कस्तो हुने, एकअर्काबीच सम्बन्ध बिग्रेमा त्यसबाट निस्कने परिणामको जिम्मेवार को हुने यदि लिभिङ टुगेदरलाई वैवाहिक मान्यता नै दिने हो भने पनि कति समय सँगै बस्न आवश्यक छ भन्ने सम्बन्धमा हामीकहाँ स्पष्ट कानुन नभएकाले लिभिङ टुगेदर समस्याकै रूपमा रहेको पाइन्छ ।

यस सम्बन्धमा भारतको सर्वोच्च अदालतले ५० वर्षसम्म सँगै बसेको आधारमा बन्द्री प्रसादविरुद्ध डाइरेक्टर अफ कन्सोलिडेसनको मुद्दामा अदालतले त्यस्तो विवाहलाई वैवाहिक मान्यता दिएको पाइन्छ । कतिपय अवस्थामा अर्थात् समाजको आँखामा त्यस्तो सम्बन्ध अनैतिक हो भनी मानिए पनि त्यस्तो सम्बन्धलाई गैरकानुनी भन्न नमिल्ने र त्यसलाई जीवनको अधिकार हो भनी व्याख्या गरेको समेत पाइन्छ ।

त्यस्तै कतिपय मुद्दामा कुनै जोडी एकअर्काको सहमतिले सँगै एक रात बिताउँदैमा र एक हप्ता बस्दैमा भने लिभिङ टुगेदर हुन सक्दैन भनी भारतको सर्वोच्च अदालतले बोलेको पाइन्छ। यिनीहरूबीचको सम्बन्ध वैवाहिक सम्बन्धजस्तै नभए पनि त्यसको प्रकृतिचाहिँ पतिपत्नीसरह नै हुन्छ । त्यस्तै दिल्लीको उच्च अदालतले वर्षा कपुरको मुद्दामा यस्तो सम्बन्धमा पछि दरार उत्पन्न भएमा महिलाले आफूसँग बसेको पार्टनरको विरुद्धमा मुद्दा दर्ता गर्ने मात्र होइन, उसको परिवारको सदस्यलाई पनि विपक्षी बनाउन सक्ने भनी व्याख्यासमेत गरेको पाइन्छ ।

अब यस्तो सम्बन्धबाट जन्मेको बच्चाको कानुनी हैसियत कस्तो हुने भन्नेबारेमा पनि विचार गर्नुपर्ने देखिन्छ । कानुनबमोजिम वैवाहिक सम्बन्ध स्थापित भएको दम्पतीबाट जन्मेको बच्चाले त वैधानिक बच्चाको हैसियत पाउँछ नै, लिभिङ टुगेदरकोे सम्बन्धबाट जन्मेको बच्चाको कानुनी हैसियत के हुने भन्ने सम्बन्धमा न हाम्रो मुलुकी ऐनको विवाहको महलले बोलेको छ न त प्रस्तावित सिभिल कोडले नै ।

अन्त्यमा, हाम्रो समाजमा एकातिर यस्तो सम्बन्धमा रहेका जोडीहरूलाई विभिन्न सामाजिक लाञ्छना लगाइन्छ, यस्तो सम्बन्धलाई अनैतिक र गैरकानुनी मान्ने मानसिकता छ भने अर्कोतिर त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चाहरूको भविष्य के होला भन्ने स्वयं राज्य, सरोकारवाला समुदाय, नागरिक समाज र सामाजिक अभियन्ताहरूले सोच्नुपर्ने बेला भएको छ । त्यसैले यस विषयमा छिट्टै नयाँ कानुन निर्माण गर्न व्यापक स्तरमा अनुसन्धान गरी लिभिङ टुगेदरबाट पीडित भएकाहरूको भावना र विचार आत्मसात गरेर लिभिङ टुगेदर सम्बन्धमा एउटा छुट्टै स्पष्ट कानुन निर्माण गर्नुपर्ने देखिन्छ ।