डा.बाबुराम भट्टराईको पार्टीमा विद्रोह सुरु, भारतपरस्त भएको आरोप

काठमाडौँ । डा.बाबुराम भट्टराईको पार्टीमा विद्रोह सुरु भएको छ । भट्टराई भारत परस्त भएको र मुलुकको हितमा काम नगरेको भन्दै नेता तथा कार्यकर्ताले विद्रोह सुरु गरेका हुन् ।
भट्टराईले देशलाई सधैं अनिर्णयको बन्दी बनाउँदै अस्थिरता फैलाउने शक्तिसँग काँधमा काँध मिलाएर हिंडेको भन्दै नयाँ शक्ति पार्टीका जिल्ला समितिहरुले धमाधम पार्टी विघटन गर्न थालेका छन् । स्थानीय तहको चुनाव रोक्न माग गर्दै भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संयु्क्त विज्ञप्ति जारी गरेका भट्टराईको कदमको केन्द्रीय परिषदका नौ सदस्यले यसअघि नै विरोध गरेका थिए ।
बाबुराम भट्टराईले स्थानीय चुनाव विथोल्ने नीति लिएपछि नयाँ शक्ति पार्टीमा विद्रोह सुरु भएको छ । यो पार्टीको सोलुखुम्बू जिल्लाले आफ्ना सम्पूर्ण इकाई विघटनको घोषणा गरेको छ । सोलुखुम्बुका अध्यक्ष तथा केन्द्रीय कार्यकारिणी सदस्य उत्तम बस्नेतले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् ।
चुनाव विथोल्ने अभियान अन्र्तगत डा। भट्टराई सोलुखुम्बू जानु दुई दिन अघि पूरै जिल्ला विघटन गरेर नयाँ शक्तिसँग सम्बन्ध विच्छेदको घोषणा गरिएको हो । बाबुरामको राष्ट्रघाती लाइनमा पार्टी लागेको, चुनाव विथोल्ने षडयन्त्रमा लागेको लगायतका आरोप लगाउँदै बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नयाँ शक्ति पार्टीको गतिविधिले देशलाई नै कमजोर पार्ने काम गरेको छ । यो आम नेपालीको ठम्याई पनि हो ।’
विज्ञप्तिमा उनले लेखेका छन्– ‘नेपाली जनतालाई सधैं अनिर्णयको वन्दी बनाइरहन चाहने पक्षसँग काँधमा काँध मिलाउन जानु नेपाली जनता, राष्ट्र र राष्ट्रियताकै विपक्षमा छ ।’आन्तरिक राष्ट्रिय एकता र दीर्घकालीन शान्ति तथा स्थायीत्व कायम गर्न लाग्नुपर्नेमा नयाँ शक्ति पार्टी ठिक विपरित बाटोमा लागेको पनि उनले बताएका छन् ।
बाबुरामका सहपाठी समेत रहेका उत्तम पूराना वामपन्थी कार्यकर्ता हुन् । इन्जिनियर बस्नेतको सोलुमा निकै राम्रो प्रभाव रहेको मानिन्छ । जनमोर्चा कालदेखि नै बाबुराम हिसिलाको साथमा रहेका उत्तमलाई विगतमा ‘पार्टीको मानिस’ भन्दा पनि ‘बाबुराम हिसिलाको मानिस’ भनेर चिन्ने गरिन्थ्यो ।
स्रोत अनुसार पूर्व सचिव रामेश्वर खनालले पनि नयाँ शक्ति त्याग्ने भएका छन् । बाबुरामको भारत परस्त तथा चुनाव विथोल्ने विचारसँग खनाल पनि असहमत रहेको बुझिएको छ ।
त्यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका कमिटिले पनि चुनाव विथोल्ने बाबुरामको नीतिको विरोध गरेको छ । कमिटिका अत्याधिक बहुमत सदस्यले चुनाव विथोल्ने बाटोमा नजाने मत राखेका छन् । त्यसैगरी बाबुरामको गृहजिल्ला गोरखाको जिल्ला कमिटि सहित विभिन्न गाउँ कमिटिहरुले पनि बाबुरामको नीतिसँग असहमति रहेको जनाउ पार्टी केन्द्रलाई दिएका छन् । गोरखामा नयाँ शक्तिका कार्यकर्ताहरुले बाबुरामको भारतपरस्त नीतिको खुलेर आलोचना गर्न थालेका छन् ।
फागुन १७ गते ।