विप्लव माओवादीले स्थानीय चुनाव बहिष्कार गर्ने घोषणा

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनाव यसअघिकै निरन्तरता भएको भन्दै बहिस्कार गर्ने बताएको छ । सरकारले स्थानीय चुनाव घोषणा गरे पनि त्यस्ता चुनावको कुनै अर्थ नरहेको विप्लबले बताएका छन् ।

पार्टी महाधिवेशनका निर्णयबारे जानकारी दिन विहिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लबले भने(हामीले जनयुद्धका बेला तीनवटा निर्वाचन बहिस्कार गरिसकेका छौं प्रचण्डकै नेतृत्वमा । त्यस्तै खाले चुनाव अहिले प्रचण्डकै नेतृत्वमा हुँदैछ, यस्तो चुनाव कसरी स्वीकार गर्न सकिन्छ ?
माओवादी निर्वाचनको बिरोधी नभएको तर अहिलेको चुनावको अर्थ नहुने उनले बताए । उनले भने(यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै हो । चुनाव बहिस्कार गरे पनि बिथोल्ने योजना भने नरहेको उनले बताए । जनयुद्धको बेलाजस्तो अहिलेको निर्वाचनलाई नमान्ने तर नबिथोल्ने उनले प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा विप्लबले ६१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरे । पार्टीको महासचिव उनी आफैं निर्वाचित भएका छन् । महाधिवेशनमा ७४ लाख रुपैयाँ खर्च भएको र चन्दाबाट उठेको रकम केही बचत भएको उनले जानकारी दिए ।
फागुन १९ गते ।