‘आत्मबोध’मा राजनीतिदेखि युद्धसम्म

 

काठमाडौंँ, १९ फागुन । समाजका विविध परिवेश र मानवीय जीवनका अन्तरघटनालाई कलामा अभिव्यक्त गर्दै १८ कलाकारले नेपाल कला परिषद्मा आजदेखि प्रदर्शनी गरेका छन् ।
‘आत्मबोध’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा मानव, समाज, चराचर जगत्, राजनीति, पर्यावरण, युद्ध तथा समाजका विकृत परिवेशजस्ता विषयलाई उठाइएको छ ।
अग्रज कलाकार तथा सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल कृष्ण मानन्धरले प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कलामा नयाँ कलाकारले निकै राम्रो गर्दै गइरहेको र कला क्षेत्र फराकिलो बन्दै गरहेको बताउनुभयो ।
कलाकार तथा लेखक सरोज वज्राचार्यले नेपाली कलामा नयाँ पुस्ताका कलाकारले उदाहरणीय काम गर्दै अघि बढेकामा सन्तुष्टि व्यक्त गर्नुभयो । कलाकार तथा कला लेखक मदन चित्रकारले आजका कलामा गतिशीलता र विविधता रहेको र यिनले नेपाली कलाको भविष्य दर्साइरहेको बताउनुभयो ।
कलाकार तथा समीक्षक रमेश खनालले कला परिष्कृत रहेको तथा समसामयिक विषयमा केन्द्रित रहेर कलाकारले काम गरेको टिप्पणी गर्नुभयो ।
प्रदर्शनीमा त्रिवि, ललितकला केन्द्रीय विभाग, स्नातकोत्तर चौथो सेमेस्टरका कला विद्यार्थीका ८० कलाकृति राखिएको छ । सहभागीमा मन गुरुङ, विक्कु थापा, भुफान लिम्बू, विकास श्रेष्ठ, धुव्रराज शर्मा, दीपक मेहता, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, काजी राना, लक्ष्मी मगर, ओमप्रकाश गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, रीतु थापा, सुदेशा श्रेष्ठ, उमा खड्का र उपकार घमाल हुनुहुन्छ ।
समूहगत प्रदर्शनीले एकार्काका कलाका चिन्तन, परिवेश र शैलीलाई बुझ्न सजिलो हुने प्रदर्शनीमा सहभागी कलाकार जयाले बताउनुभयो ।
अर्का कलाकार जुजुकाजीले प्रदर्शनीले कलाकारलाई बाहिर ल्याउन र कलाको वातावरण निर्माण गर्न महत्वपूर्ण सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनी यही फागुन २३ गतेसम्म चल्नेछ ।