बार्सिलोनाव्दारा सेल्टा ५—० ले पराजित
बार्सिलोना । स्पेनिस ला लिगा फुटबलको भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि गोलको वर्षा गरेको छ । बार्साले सेल्टा भिगोलाई ५—० गोलको फराकिलोअन्तरले पराजित गरेको हो । लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्साले आफ्नै घरेलु मैदानमा सेल्टा भिगोविरुद्घ उत्कृष्ट प्रदर्शन गरेको हो ।
बार्सालाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई गोलको योगदान गरे । यसैगरी ब्राजिलियन खेलाडी नेमार, इभान राकिटिच र सामुएल उमटिटीले पनि एकएक गोल गरे । एकतर्फी जित हात पार्ने क्रममा बार्साले खेलको २४औं मिनेटमा मेसीको गोलबाट सुरुआती अग्रता लिएको थियो । खेलको ४०औं मिनेटमा नेमारले गोल गरेपछि पहिलो हाफमै बार्साले २(० को अग्रता बनायो ।
बार्साले दोस्रो हाफमा पनि आक्रामक खेल खेल्दै तीन गोल थप्यो । ५७औं मिनेटमा राकिटिचले गोल गर्दै बार्साको अग्रतालाई तेब्बर बनाएका थिए । त्यसको चार मिनेटपछि नै उमटिटीले गोल गर्दै बार्सा ४(० को अग्रता दिलाए । सेल्टा भिगोको पोस्टमा लगातार आक्रमण गरेको बार्साका लागि खेलको ६४औं मिनेटमा अर्जेन्टिनी स्टार मेसीले व्यक्तिगत रूपमा दोस्रो गोल गरेका थिए ।
सेल्टाविरुद्ध दुई गोल गरेसँगै मेसीले यो सिजनको ला लिगामा आफ्नो गोल संख्या २३ पुर्याएका छन् । मेसी यो सिजनमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन् । जितपछि बार्साले लिगमा आफ्नो शीर्षस्थान कायमै राखेको छ । बार्साले २६ खेलबाट ६० अंक जोडेको छ । बार्सा दोस्रो स्थानमा आसीन रियल म्याड्रिडभन्दा एक अंकले अगाडि छ । एक खेल कम खेलेको रियलको ५९ अंक छ ।
रियल म्याड्रिडले पनि शनिबार रातिको खेलमा सहज जित निकाल्यो । रियलले इबरलाई ४(१ गोलले पराजित गर्यो । इबरको घरेलु मैदानमा भएको खेलमा रियलले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र गारेथ बेल बिना नै सहज जित हात पारेको हो । रियललाई जित दिलाउन करिम बेन्जमाले दुई तथा जेम्स रोड्रिग्वेज र मार्को एसेन्सियोले एकएक गोल गरे । इबरका जुबेन पेनाले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा बेन्जमाको गोलबाट अग्रता लिएको रियलले २५औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । रियलका बेन्जमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २—० को अग्रता दिलाएका थिए । त्यसपछि २९औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै पहिलो हाफमै रियललाई ३—० को अग्रता दिलाए । ६०औं मिनेटमा एसेन्सियोले गोल थपेपछि रियलले ४(० अग्रता बनायो ।
७२औं मिनेटमा इबरका पेनाले एक गोल फर्काएका थिए । अर्को खेलमा भिल्लारियलले स्पान्योललाई २—० गोलले पराजित गर्यो । रियल सोसिएडाडले रियल बेटिसलाई ३—२ र लेगानेसले ग्रनाडालाई १—० गोलले हराए ।