‘महिला हिंसाको दोषी महिला नै’

 

काठमाडौँ, २३ फागुन । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिलामाथि हुने हिंसाको घटना पुरुषभन्दा बढी महिलाले नै गर्ने गरेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगको १५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम्को सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला मन्त्रालयका सचिव विष्णु लम्सालले कानुन र नीतिको व्यावहारिक रुपमा कार्यान्वयन नभएसम्म आफ्नो अधिकारका लागि निरन्तर लागिरहन सम्पूर्ण महिलालाई आग्रह गर्नुभयो । राष्ट्रिय महिला आयोगका सचिव रामप्रसाद भट्टराईले हिंसा कम गर्नका लागि महिला स्वयम् सशक्त रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

आयोगका कावा अध्यक्ष भगवती घिमिरेले हिंसा न्यूनीकरण गर्न आयोगले सम्बन्धित निकायमा घच्घच्याउने काम गरिरहेको जानकारी दिनुभयो । कलाकार कुञ्जना घिमिरे‘सुन्तली’ले महिलाले पनि पुरुषसरह अधिकार स्थापित गर्न सर्वप्रथम पुरुषप्रधान समाजको अन्त्य गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा आयोगले महिला हिंसा न्यूनीकरणका लागि काम गर्ने सुन्तली, पत्रकार अमृता अनमोल, आयोगका पूर्वपदाधिकारी मनु हुमागार्इंलाई रु २५ हजार पुरस्कारसहित सम्मान गरेको थियो ।