मधेसी मोर्चाव्दारा सिराहा र सप्तरीमा एमालेको पार्टी कार्यालय,मानव अधिकारको गाडीमा तोडफोड र आगजनी,राजविराजमा कर्फ्यु

लहान । सिराहाको लहान—१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गर्दै आगजनी गरेका छन्। उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका हुन्। 
यसैबीच,मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि आज दिउँसोदेखि सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि सिरहा मधेसी मोर्चाका कार्यकर्ता आक्रोशित छन्। मोर्चाले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि सवारीसाधन चल्न सकेको छैन।
मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्ध नाराबाजीसमेत गरेका छन्।
मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार सप्तरीको राजविराजमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन्। मंगलबार र बुधबार मधेस बन्दको घोषणा गरेका मोर्चाका कार्यकर्ताले बिहानैदेखि राजविराजमा प्रदर्शन गरिरहेका छन्। एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमबार राजविराजमा आयोजित सभा बिथोल्न खोज्दा भएको गोली काण्डमा तीन जनाको ज्यान गएपछि मोर्चाले दुई दिन मधेस बन्द आयोजना गरेको छ।
‘बिहान दश बजेपछि उहाँहरु सरकारी कार्यालय पनि बन्द गर्दै हिड्नु भएको छ’, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनक कोइरालाले भने, ‘एमाले पार्टी कार्यालय र मानव अधिकार आयोगको गाडीमा तोडफोड भएको रिर्पोट हामीलाई आएको छ।’

राजविराजस्थित शान्ति समितिको कार्यालयमा आगजनी

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज-६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित भीडले कार्यालयको पहिलो तल्लामा आगजनी गरेको हो। आगलागीबाट पहिलो तल्ला जलेर नस्ट भएको छ।

प्रदर्शन उग्र बन्दै गए सदरमुकाम कर्फ्यू आदेश जारी हुन सक्ने कोइरालाले बताए। ‘जिल्लाका सुरक्षा अधिकारीहरु एकै ठाउँमा हुनुहुन्छ’, कोइरालाले भने, ‘प्रदर्शन उग्र हुँदै गए कर्फ्यू लगाउने बारे पनि छलफल भइरहेको छ।’
सोमबार भएको झडपमा प्रहरीको गोली लागी तीन जनाको ज्यान गएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई प्रधानमन्त्रीले मंगलबार राजधानी बोलाएका छन्।
यता मधेस बन्दको घोषणा गरेका मोर्चा कार्यकर्ताले छिमेकी सिराहा र धनुषामा शान्तिपूर्ण रुपले प्रदर्शन गरिरहेका प्रशासनले जनाएको छ।
फागुन २४ गते ।