अध्यारोमा रहेको मुलुकमा लोकतन्त्रको बत्ती बाल्ने काममा छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादव

 

काठमाडौँ, २४ फागुन । निर्वाचन आयोगले आगामी स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर आजदेखि आचारसंहिताको पालनालगायतका विषयमा प्रशिक्षण सुरु गरेको छ ।

आगामी २०७४ वैशाख ३१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने स्थानीय तहको निर्वाचनका लागि तीन लाखभन्दा बढी जनशक्तिलाई तालिम प्रशिक्षण दिने जनाएको छ ।

निर्वाचनमा जनशक्ति तयार गर्ने प्रक्रियाको आरम्भसँगै निर्वाचनको महाअभियानमा आयोग सघन ढङ्गबाट लागेको स्पष्ट भएको छ ।

आयोगले राजधानीबाट प्रकाशन तथा प्रशारण हुने सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी विटमा काम गर्ने पत्रकारलाई स्थानीय तह निर्वाचन, आचारसंहिता, स्थानीय तह निर्वाचन प्रणाली, मतदान र मतगणना तथा निर्वाचन कसुर र सजायलगायतका विषयमा प्रशिक्षण गराएको हो ।

निर्वाचन आयोगले प्रदान गर्ने नौ प्रकारको तालिममध्ये पत्रकारलाई निर्वाचन र सञ्चार विषयमा प्रशिक्षण दिइएको हो ।

पत्रकारले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिता पालना भए÷नभएका पक्षलाई गहिरोसँग अध्ययन र विश्लेषण हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

उक्त तालिम प्रशिक्षणको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा सत्यतथ्य समाचार सम्प्रेषण गरेर आम जनता र राजनीतिक दललाई सही बाटो देखाउने र मतदातालाई निर्वाचनमा मतदानका लागि प्रेरित गर्ने भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मतदान जनताको कल्याणसँग जोडिएको विषय भएकाले स्वच्छ, निष्पक्ष र भयरहित तुल्याउन आयोगले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले अध्यारोमा रहेको लोकतन्त्र र मुलुकलाई बत्ती बालेर उज्यालो प्रदान गर्ने कार्यमा आफू लागिपरेको उल्लेख गर्नुभयो ।

आयुक्त इला शर्माले लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तहको निर्वाचनको वातावरण बनाउन नागरिक समाज र सञ्चारजगतको ठूलो भूमिका रहने बताउनुभयो ।

अर्का आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनमा सूचना सङ्कलन, आचारसंहिताको पालनादेखि निर्वाचनको परिणाम सार्वजनिक हुँदासम्मका समाचारमा एकरुपता देखियोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभयो ।

आयोगका सहसचिव नवराज ढकालले सञ्चारजगतले निर्वाचनमा सबैको सहयोग, सहभागिता र ऐक्यबद्धताको सुनिश्चिता प्रदान गर्ने भएकाले सञ्चारकर्मीलाई पहिले प्रशिक्षण प्रदान गर्ने आयोगले सोच बनाएको बताउनुभयो ।