एमालेको मेची–महाकाली राष्ट्रिय अभियान पुनः भोलिदेखि अगाडि बढ्ने

काठमाडौँ । सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चाले अबरोध गरेपछि भएको झडपका कारण स्थगित नेकपा एमालेको मेची— महाकाली राष्ट्रिय अभियान भोलिबाट पुनः हेटौँडादेखि सुरु हुने भएको छ ।
नेकपा एमाले चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत ¥याली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताउनुभयो ।
बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल ¥याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत ¥याली नदी किनारमा पुगेर सभामा परिणत हुने उहाँले बताउनुभयो ।
सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले ¥यालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत गर्ने पनि बताउनुभयो ।
सो अवसरमा जारी विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको शान्तिपूर्ण आमसभा बिथोल्ने प्रयास भएकोमा दुःख व्यक्त गरिएको छ ।
फागुन २१ गते पूर्वको काँकडभित्ताबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न हुँदैछ । सप्तरीमा झडपपछि अभियान तीन दिनका लागि स्थगित गरिएको थियो ।
फागुन २५ गते ।