संयमित भएर राजनीतिक एजेण्डाका आधारमा अघि बढनुहोस्– प्रमुख आयुक्त यादव

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दललाई संयमित भएर राजनीतिक एजेण्डाका आधारमा अघि बढ्न सुझाव दिनुभएको छ ।
राजधानीबाट प्रकाशित एवम प्रसारित राष्ट्रिय सञ्चार माध्यममा निर्वाचनसम्बन्धी बिटमा समाचार सङ्कलन गर्ने समाचारदाताका लागि सञ्चालित दुईदिने निर्वाचन र सञ्चार विषयक प्रशिक्षण समापन समारोहमा उहाँले लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व प्रदान गर्ने सन्दर्भमा हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन सबै दललाई आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रमा शान्ति छर्ने तथा जनताको कल्याण गर्ने कार्यमा आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिँदै उहाँले सबै खाले हिंसात्मक गतिविधि अन्त्य गरी वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न दलहरुलाई आग्रह गर्नुभयो ।
तराई मधेसमा केही दिनयता भएको आन्दोलनबाट निर्वाचन आयोग मातहतका कर्मचारीसमेत प्रभावित भएको बताउँदै प्रमुख आयुक्त यादवले सबै पक्षलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारलाई सुझाव दिनुभयो ।
अनुमानका आधारमा होइन, अनुभवका आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै उहाँले निर्वाचनसँग सम्बन्धित समाचार प्रवाह गर्दा आयोगको स्रोत प्रष्ट खुलाउँदा नै समाचारप्रति विश्वासनीयता बढने बताउनु भयो ।
प्रकाशित मिति २५ फागुन