भारतीय सुरक्षाकर्मीले गोली हानी एक नेपालीको हत्या, नेपालीहरुलाई कुटपिट, नेपालीहरु प्रतिकारमा उत्रेपछि सीमा क्षेत्रमा भिडन्त

आनन्द बजार  । भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गोली लागी कञ्चनपुरको पुनर्वासमा एकजना नेपालीको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका वडा नं ८ कारगिल डाँडा नजिक भारतको सम्पूर्णानगर थानाका प्रहरी निरीक्षकले चलाएको गोलीले स्थानीय गोविन्द गौतमको ज्यान गएको हो । २ सय नम्बर पिलर हराएकोले त्यो क्षेत्रमा लामो समय देखि विवाद चल्दै आएको छ ।

आज आनन्द बजार क्षेत्र तनावग्रस्त बनेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले कञ्चनपुरस्थित नेपाल—भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका छन् ।

सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

यो विवादले उग्र रुप लिँदा एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा आज बिहान स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ ।

त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् ।

फागुन २६ गते ।