आज मन्त्रिपरिषद् विस्तार, थापालाई स्थानीय विकास मन्त्रालयको जिम्मा

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो ।
यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराउनुभयो । मन्त्रिपरिषद्मा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री रहनुभएका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ ।