भैरहवा र बुटवलमा एमालेको शक्ति प्रदर्शन, निर्वाचन नगर्ने भए सरकार छाड्न प्रचण्डलाई ओलीको सुझाव

भैरहवा । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब नभएको भन्दै अन्तैका प्रभु रिझाउन व्यस्त रहेको दाबी गर्नुभएको छ । एमालेले गत फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भैरहवास्थित अञ्चलपुरमा आयोजित सभालाई सम्वोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । भैरहवा, बुटवल र आसपासका क्षेत्रबाट भेला भएका ५० औँ हजार जनताका बीचमा एमालेका शीर्ष नेताहरुले सम्वोधन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो– ‘देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।’ उहाँले मधेसका नाममा राजनीति गर्न चाहनेहरुले त्यहाँका जनतालाई मराउन चाहेको आरोप लगाउनुभयो । ओलीले भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरुमाथि गोली हान्दा सरकार चुइक्क नबोलेको भन्दै भारतसँग थर्कमान भएको आरोप पनि लगाउनुभयो । ‘नेपालभित्र आएर नेपालीमाथि गोली हानियो,’ उहाँले भन्नुभयोे, ‘यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरुमाथि नै कारवाही गरियो ।’
उहाँले काम गर्ने हिम्मत नभए सरकारमा बस्नुको औचित्य नभएको पनि बताउनुभयो । ‘देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘जनताको यो उपस्थितिले देखाउँछ, सरकार हामी चलाउँछौँ ।’
उहाँले बर्तमान सरकार नेपाल र नेपालीको नभएको पनि दाबी गर्नुभयो । ‘विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने छ । तर, सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्यायो । त्यसले सबभन्दा पहिला पाँच नम्बर प्रदेशलाई टोक्न खोज्यो, त्यसपछि बाँकीलाई पनि यसरी नै टोक्ने योजना छ । पाँच नम्बरका जनताले त्यसलाई अस्वीकार गरिदिएका छन् ।’
उहाँले मधेसी मोर्चाका नाममा दुई चार जना सडकमा उफ्रिए र ट्याउँट्याँउ गरे भने सरकारले देख्न तर हजारौँ, लाखौँको जुलुश नदेख्ने भन्दै पहाडी र मधेसी भनेर झगडा गर्ने, जातजातका नाममा झगडा गराउने काम सरकारका तर्फबाट भइरहेको आरोप लगाउनुभयो । ‘यस्तो तमासा देखाउन खोजेको छ । हामी त्यो सफल हुन दिँदैनौँ,’ उहाँले भन्नुभयो ।
मोर्चाका नेताहरुले एमालेलाई तराई पस्न नदिने भनी गरेको टिप्पणीको पनि उहाँले आलोचना गर्नुभयो । ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ,’ ओलीले भन्नुभयो, ‘कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् रु नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।’
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन ।’
सांसद आदित्यानारायण कसौधनको सभापतित्व र तुलसी चौधरीको सञ्चालनमा सम्पन्न सभामा पोलिट्ब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले पनि बोल्नुभएको थियो ।
फागुन ३० गते ।