राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्छ : कमल थापा

काठमाडौं । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनै पनि द्विविधा र अस्पष्ट नरहेको बताउँदै भन्नुभयो, ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान गर्छ, तपाईहरु ढुक्क हुनुहोस्, अझ यो प्रस्तावलाई पारित गराउनको लागि सरकारले सदनमा निर्णायर्थ पेश गर्यो भने हामी त्यतिखेर सरकारबाट बाहिरिएर, सबै मन्त्रीहरुले राजीनामा दिएर प्रस्तावको विपक्षमा मतदान गर्छौं ।’
राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री थापाले आफ्नो पार्टीको संविधान संशोधन प्रस्तावबारे पूर्ववर्ती अडानमा कुनै पनि परिवर्तन नभएको जिकिर गर्दै भन्नुभयो, ‘प्रस्तावबारे पहिला जे अडान थियो, अहिले पनि त्यही छ, म सरकारमा सहभागी हुँदैमा हाम्रो पार्टीको नीतिमा कुनै पनि परिवर्तन भएको छैन, अहिले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित हुनुहुँदैन भन्ने पक्षमा हामी छौं ।’ उहाँले संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको र यसको पक्षमा मतदान नगर्ने भनेर भनिसकेकोले अब कति पटक भन्नु पर्ने भन्दै प्रश्न गर्नुभयो।
फागुन ३० गते ।