ब्रिटिस कलेजमा रक्तदान

maitrinews

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का
विद्यार्थीहरुले काठमाडौँमा रगत अभाव बढेको समाचार
सार्वजनिक भएपछि कलेज परिसरमा रक्तदान कार्यक्रमको
आयोजना गरे ।
‘द ब्रिटिस कलेज’मा सामाजिक उत्तरदायित्वको रुपमा
स्थापना गरिएको विद्यार्थीहरुको ‘सामाजिक उत्तरदायित्व
क्लब’ले गरेको सो कार्यक्रममा ६० जना विद्यार्थीले रक्तदान
गरेका थिए ।
नोबल हस्पिटलसँगको सहकार्यमा द ब्रिटिस कलेज
‘सामाजिक उत्तरदायित्व क्लब’ले रक्तदान कार्यक्रम
आयोजना गरेको हो । कार्यक्रममा ब्रिटिस कलेजमा
अध्ययनरत विद्यार्थीहरु र अन्य रक्तदाताहरुले रक्तदान
गरेका थिए ।
रक्तदान कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेलले
विद्यार्थीहरुले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक
उत्तरदायित्व समेत बोक्नुपर्ने बताए । “विद्यार्थीहरुले
पढाइका साथसाथै सामाजिक र परोपकारी कामहरुमा
पनि आफूलाई क्रियाशील गराउँदैं लैजानुपर्छ,” उनले भने,
“त्यसका लागि कलेजले पनि सहयोगी भूमिका खेलिरहेको
छ ।”
द ब्रिटिस कलेज थापाथली बेलायती विश्वविद्यालय लिड्स
बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ
इङ्ग्ल्याण्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीए,
एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभ
लगायतका कोर्स सञ्चालन गरिरहेको छ । आगामी वर्षदेखि
एमएस्सी इन्फरमेसन म्यानेज्मेन्ट र एमबिए पनि सञ्चालन
गर्ने लक्ष्य लिइएको छ । हाल ब्रिटिस कलेजमा १२
सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।