निधि र सिंहबीच भेटवार्ताः कञ्चनपुर घटनालाई भारतले गम्भीरतापूर्वक लिएन

 

नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराउनुभएको थियो
जबाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गर्नुभयो । भेटमा भारतीय गृहमन्त्री सिंहले त्यसभन्दा बाहेक ठोस जवाफ केही पनि दिनुभएन ।

त्यस अबसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताव गर्नुभएको थियो । भारतीय गृहमन्त्री सिंहले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिनुभयो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।

भारतीय समकक्षी सिंहसंगको भेटमा गृहमन्त्री निधिले बिगतको संबिधान सभा चुनाबमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आबश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्बाचनमा पनि सहयोगका लागि आग्रह गर्नु भएको थियो । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने बिषयलाई सकारात्मक रुपमा लिनु भएको थियो ।