नेपालको वैदेशिक व्यापारमा वृद्धि
काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३÷७४ को प्रथम सात महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२.३ प्रतिशतले वृद्धि भई ५९९.४३ अर्व पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.० प्रतिशत र ९३.० प्रतिशत रहेको छ । यस अवधिमा नेपालको कुल निकासी ११.१ प्रतिशतले वृद्धि भई आई रु ४२.२२ अर्व तथा कुल पैठारीमा ५६.८ प्रतिशतले वृद्धि भई भई ५५७.२१ अर्व पुगेको छ । आ.व. २०७२÷७३ को प्रथम सात महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः९.४ भएकोमा आ.व. २०७३÷७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.२ रहन आएको छ ।
सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेको ब्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ ।