मेची–महाकाली राष्ट्रिय अभियान र एमालेको आगामी भूमिका – माधवकुमार नेपाल

मेची–महाकाली राष्ट्रिय अभियान र एमालेको आगामी भूमिका- माधवकुमार नेपाल


नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानले राष्ट्रिय राजनीतिमा तरंग सिर्जना ग¥यो । एमालेले कुनै नकारात्मक दृष्टिकोणबाट यो अभियान सुरु गरेको थिएन । हामीले यो अभियान राष्ट्रलाई जोड्नका लागि, नेपालको एकतालाई बलियो बनाउनका लागि, नेपाली जनतामाझको एकता र सामाजिक सद्भावलाई अभिवृद्धि गर्नका लागि, एमालेका बारेमा पैदा गरिएका भ्रमहरू चिर्नका लागि र जनतामा एमालेका नीतिहरू अझै प्रस्ट रूपमा व्याख्या गरेर जनसमक्ष पु¥याउनका लागि चलाएका थियौं ।
मेची–महाकाली अभियान चलाउनुअघि पनि जिल्ला–जिल्लामा त्यस्तै अभियान चलाइएको थियो । अब पनि स्वतः अर्को अभियान चल्नेछ । यो अभियानका सहभागी हुनेहरू फेरि स्थानीय तहको चुनावको सिलसिलामा आ–आफ्नो जिल्लामा जुट्नुहुनेछ । तसर्थ, यो अभियानलाई विशिष्ट मान्नुपर्छ । यस्तो अभियान आजसम्म कसैले पनि सञ्चालन गरेका थिएनन् । हुन त नेपालको राजनीतिक इतिहासमा जुनसुकै कुरामा पनि एमाले पहिलो हुने गरेको छ । चाहे त्यो पञ्चायतविरोधी आन्दोलनको सन्दर्भमा खेलेको भूमिका होस्, चाहे राजतन्त्रविरोधी आन्दोलनको अगुवाइ गर्ने कुरामा होस् । चाहे शान्ति प्रक्रिया सुरु गरेर त्यसलाई टुंगोमा पु¥याउने सन्दर्भमा होस् चाहे संविधान निर्माण गर्ने कुरामा होस् । संविधान कार्यान्वयन गर्ने कुरादेखि लिएर राष्ट्रियताको रक्षा गर्ने, नेपालको सम्बन्धलाई दुवै छिमेकी देशसँग समनिकटताका आधारमा अघि बढाउनका लागि नै किन नहोस् एमालेले सधैं अग्रता लिँदै आएको यथार्थ छर्लङ्ग नै छ ।
देशमा विकास निर्माणको अगुवाइ पनि एमालेले नै गरेको छ । सामाजिक सुरक्षाको सम्बन्धमा सबैभन्दा बढी चासो एमालेले देखाएको छ । युवाहरूको रोजगारीको आवाज मात्र होइन, नीति कार्यान्वयन गर्ने कार्यमा पनि एमालेले भूमिका खेलेको छ । युवा नीति एमालेकै सरकारका पालामा पारित गरिएको थियो । युवासम्बन्धी स्वरोजगार कोष स्थापना गर्नका लागि पनि एमालेले नै भूमिका खेल्यो । तसर्थ, समाजका जुनसुकै वर्ग, तहका जनताको कुरा किन नगर्नुस्, मधेस–तराईका जनताको विकासका निम्ति, त्यस क्षेत्रको समग्र विकास, हकहित र कल्याणका निम्ति एमाले अग्रसर रहेको छ । आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक समुदायको हित र कल्याणका निम्ति खासगरी विपन्न र गरिब समुदायका निम्ति एमालेले भूमिका खेल्दै आएको छ ।
अब हुने स्थाीय तहको निर्वाचनमा एमालेको विजय सुनिश्चित छ । हामीले अब एकताबद्ध भई कुनै विश्राम नलिईकन आफ्नो सम्पूर्ण बल, बुद्धि र क्षमता निर्वाचनका लागि परिचालन गर्नुपर्छ । यो चुनावमा जित हाम्रो सुरुवात हुनेछ । प्रदेश सभामा एमालेको जितले केन्द्रीय चुनावमा समेत हामीले जित्ने आधार प्रदान गर्नेछ । त्यसपछि मात्र हामी विश्राम गरौंला । त्यसपछि फेरि हाम्रो काम नयाँ नेपालको निर्माण गर्नेमा केन्द्रित हुनेछ । नयाँ नेपाल निर्माणको सपना हामीले बोकेका छौं, परिकल्पना गरेका छौं । नयाँ नेपालको तस्बिर हामीले जोगाएर राखेका छौं । त्यसलाई लागू गर्ने कुरामा अरू कुनै पनि पार्टीलाई हामीले पछाडि पारेर अग्रसरता लिन सक्नुपर्छ । यी सबै कुराका निम्ति हामी प्रतिबद्ध छौं ।
एमालेले आफ्नो कार्यक्रम सफल बनाउने कुरालाई केन्द्रमा राख्दै आएको छ । मान्छेसँग बदला लिने, मान्छेलाई नोेक्सान पु¥याउने काम हामीबाट हुँदैन । एमालेले कसैसँग निहुँ खोज्दैन । यो सिंगो अभियानमा हामीले कसैलाई घोचपेच पनि गरेनौं । हामीले नितान्त संविधानका बारेमा आफ्ना धारणा बतायौं । संविधान, संविधान संशोधनका बारेमा हाम्रा धारणा के हुन् ? संक्रमणकाल अन्त्यपछि नेपाली जनताले कसरी नयाँ राजनीतिक परिवेश पाउने ? कसरी हामीले राजनीतिक क्रान्ति पूरा गरिसकेपछि आर्थिक क्रान्तिको नयाँ चरणमा प्रवेश गर्ने ? भन्ने सबै कुराको सन्दर्भमा एमालेको समष्टिगत दृष्टिकोण पार्टीका सबै शीर्ष नेताले एक साथ मेचीदेखि महाकालीसम्म पुगेर बताएका छौं । यो मार्चमा कुनै ठाउँमा २५ किलोमिटरसम्मका लामो ताँती पनि देखिए । यत्रो विशाल परिचालनसहित यो अवधिमा लगभग ५० लाख मानिसका बीचमा हामी पुगेका छौं । जनताका माझमा हामीले एमालेका धारणा पु¥याएका छौं ।
हाम्रो नीति र विचार राष्ट्रको हितमा छ । हामी नेपाली भएकोमा गौरवबोध गर्छौं । नेपाली देशभक्तिको भावना फैलाउन चाहन्छौं । हामी सबैको संवेदनशीलता पनि बुझ्छौं । तर, अनावश्यक रूपमा नेपालमा जातीय विभाजन ल्याउने, कटुता पैदा गर्ने, भौगोलिक विभाजन पैदा गर्नेजस्ता प्रवृत्तिको हामी विरोधमा छौं ।
जसले हामीले अधिकार पाएनौं भनिरहेका छन्, तर उनीहरूले कहाँ अधिकार पाएनन् भन्न सकिरहेका छैनन् । अधिकार पाएनौं भन्ने कुरामा न कुनै सत्यता छ, न कुनै दम छ । होइन भने तथ्यसहित आउनुपर्छ र हामी पनि तथ्यसहित बताउँछौं । विशेषतः तराई–मधेसमा काठमाडौले हामीलाई वास्ता गरेन, हामीलाई ठगियो भनेर भ्रमपूर्ण कुरा गरिएका छन् । संसारमा नभएका कुरा ल्याउन खोजिरहेका छन् । यी सबै कुरा ल्याएर देशमा अनेक जटिलता पैदा गरिदिने र एकअर्कालाई लडाउने खालको बदनियत लुकेको छ । यसकारण, हामीले सुनियतका साथ काम गर्नुपर्छ । राम्रो भावनाका साथ काम गर्नुपर्छ । राम्रो भावना छ भनेर हामीले जनतामा बुझाउनु पनि पर्छ ।
कतिपय मानिस भ्रममा परेका छन् । मधेसका जनता चुनाव चाहिरहेका छन् । उनीहरूले संविधान संशोधन खोजेका छैनन् । संविधान संशोधन मधेसको माग होइन । यो त मधेसका नाममा केही नेताहरू र केही पार्टीहरूको मात्र माग हो । उनीहरूले मधेसका नाममा गरेको राजनीति हो । त्यो मधेसी जनताको चाहना र धारणा हुँदै होइन । चाहे नागरिकताको कुरा गरौं, चाहे भाषाको कुरा गरौ,ं ती सबै कुरा संविधानमा मधेसको हितमा छन् । थारू, भोजपुरी, मैथिलीलगायतका मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्छ भन्यौं, त्यो मान्यता दिइएको पनि छ । तर, बाहिरको भाषालाई ल्याउन खोज्ने कुराको हामी विरोधी हौं । नागरिकताको सवालमा पनि कुरा त्यही हो । नागरिकता नेपालीले पाउने हो । विदेशीको नागरिकताका निम्ति टाउको दुखाउने काम हाम्रो होइन । नेपालको नागरिकता भनेको बारीको पानीजस्तो खुल्ने कुरा होइन । सबै बाहिरकालाई नेपालमा ल्याएर भिœयाउने पनि होइन । यहाँका धर्तीपुत्र, धर्तीपुत्रीहरूले, मधेसी जनताका छोराछोरीहरूले, सिंगो नेपाली समुदायका छोराछोरीहरूले हकअधिकार पाउने हो । त्यो अधिकार सबैले समान रूपमा पाएका छन् । बरु, कसै–कसैलाई विशेष अधिकार दिइएको छ । महिला, मधेसी, मुस्लिम, थारू, दलितलगायत समाजका कतिपय तप्पालाई विशेष अधिकार दिइएको छ । यो भनेको अतिरिक्त अधिकार हो । तसर्थ, केही अधिकार दिइएन भन्ने कुरामा कुनै सत्यता देखिँदैन । हामी यस्तो भ्रमलाई चिर्न चाहन्छौं ।