सुरक्षाको कारण देखाउँदै अमेरिकाव्दारा विमानमा विद्युतीय उपकरण लैजान प्रतिबन्ध

 

अमेरिका । संयुक्त राज्य अमेरिकाले केही व्यस्त विमानस्थल लगायत मध्यपूर्वका १० वटा विमानस्थलबाट सीधै अमेरिका जाने उडानमा यात्रुहरुलाई ल्यापटप, ट्याबलेट, कम्प्युटर र गेम कन्सोलहरु आफ्नो साथमा लैजान निषेध गरेको छ।
आन्तरिक सुरक्षा विभागले आतंकवादीहरुले विमान ध्वस्त पार्ने नयाँ तरिकाहरु खोजिरहेको भन्दै ल्यापटप, ट्याबलेट, क्यामेरा, डिभिडी प्लेयर र विद्युतीय गेमहरुमा बम लुकाउन सकिने बताएको छ।
त्यो नियमले १० वटा विमानस्थलमा सकृय रहेका नौवटा एयरलाइन कम्पनीलाई प्रभावित गर्नेछ।
यात्रुले आफूसंगै लैजान सक्ने सामानमा ठूला विद्युतीय उपकरण राख्न पाउने छैनन्, तर फोन भने लान पाउनेछन्।
त्यस्तो नियम लागू गर्न एयरलाइन कम्पनीहरुलाई छयानब्बे घण्टा दिइएको बताइएको छ भने त्यस्तो प्रतिबन्धको समयसीमा तोकिएको छैन।
प्रत्येक दिन मध्यपूर्व, टर्की र उत्तरी अफ्रिकाका सर्वाधिक व्यस्त केही विमानस्थलका ५० भन्दा बढी उडानका यात्रुले नयाँ नियम पालना गर्नुपर्ने एएफपी समाचार संस्थाले बताएको छ।

चैत ९ गते ।