दलहरुमा अराजकता रोक्न तीन प्रतिशत र एक सिट थ्रेसहोल्ड प्रस्ताव पारित

maitrinews

 

काठमाडौँ ।  राज्य व्यवस्था समितिले दलहरुको प्रस्ताव पारित गरेको छ ।  प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्‍ने दललाई राष्ट्रिय दलको मान्यता दिने दलहरुको प्रस्ताव संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो ।

समिति बैठकले दलहरुको प्रस्ताव बहुमतले पारित गरेको हो ।  यो प्रस्ताव अब स‌सदमा जानेछ । यसअघि  आज बिहान राज्य व्यवस्था समिति सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ गृहकार्य टुंगाउँदै उपसमितिले ३ प्रतिशतको ुथ्रेसहोल्डु राख्ने निर्णय गरेको थियो । 

निर्वाचनमा खसेर सदर भएको कुल मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राख्ने दलहरुबीच सहमति बनेको थियो । ‘हामीले कम्तीमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्ने थ्रेसहोल्ड भने पनि राख्यौं,’ उपसमितिका सदस्य तथा सांसद रामेश्वर फुयालले भन्नुभयो, ‘यसले दलहरुको केही हदसम्मको अराजकतालाई रोक्ने छ ।’

उपसमितिका सदस्यहरू तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले भने थ्रेसहोल्ड राख्न नहुने फरक मत  राख्नुभएको थियो । फुयालले ५ प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने अडान लिनुभएको थियो ।

उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ र राष्ट्रपतिले स्वीकृत गरेपछि ऐन बनेर लागू हुनेछ ।

 

चैत ९ गते ।