देउवाको आदेशमा काँग्रेस बैठक रोकियो, पौडेल पक्ष रुष्ट

 

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ । भोलि बिहिवारका लागि डाकिएको बैठक आईजीपी प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने डरले पार्टी सभापति शेरबहादुर देउवाको आदेशमा स्थगित गरिएको हो । देउवाले बैठक स्थगित गरेकोमा पौडेल पक्षले भने कडा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडलेले अहिलेका राजनितिक मुद्दा र निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्न दलीय छलफललाई तीब्रता दिनुपर्ने भएकाले बैठक सारिएको बताए । बैठकमा संविधान संशोधनको विषय र त्यसले सिर्जना गरेको तराई मधेसका समस्याहरु छलफलको मूल एजेण्डाका रुपमा रहेको छ ।
सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा पार्टीको प्रचारप्रसार रणनीति र धेरैभन्दा धेरैलाई सहभागि गराउन सरकारको भूमिकाको विषयमा छलफल गर्ने तयारी पनि छ । बैठकले पदाधिकारीहरुको पूर्णता, कार्य सम्पादन समितिको पूर्णता र संसदीय समितिको निर्वाचनको विषयमा पनि छलफल गर्ने बताइएको छ ।
पार्टीले अहिलेसम्म प्रवक्ता चयन गर्न सकेको छैन । यही बैठकबाट नै प्रवक्ता चयन समेत गर्ने तयारी भईरहेको छ । पार्टीको विभिन्न विभागहरुको गठन, केन्द्रीय कार्यसमितिको पूर्णता र अन्य विविध विषयमा पनि छलफल गर्ने पार्टीको तयारी छ । देउवाले भने विभिन्न वहना बनाउँदै बैठक पर सार्दै आएका छन् ।

चैत ९ गते ।