सांसद दुरारीदेवीको निधनमा एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ चैत । नेकपा एमालेले व्यवस्थापिका संसद् सदस्य दुलारीदेवीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको शोक वक्तव्यमा दिवङ्गत सांसद देवीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दुःखको यस घडीमा उहाँको परिवारलगायत शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
विज्ञप्तिमा देवीको निधनबाट पार्टीले एक असल कार्यकर्ता र संसदीय दलले सक्रिय सदस्य गुमाएको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढिकरणमा उहाँले पु¥याएको योगदान स्मरणीय रहेको भनिएको छ ।
मुलुकको भौगोलिक एकता, जातीय र सामाजिक सद्भावलगायत पार्टीको विचार, दृष्टिकोण र अडानलाई दृढतापूर्वक लागू गराउन उहाँले निर्वाह गरेको भूमिकाका कारण जनताले देवीको सदैव सम्मान गर्ने विश्वास विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्लाही ब्रह्मपुरी–८ मा जन्मनुभएकी देवी दलित समुदायबाट पार्टीको तर्फबाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्नुभएको थियो । यही चैत ३ गते मोटरसाइकल दुर्घटनामा परी बिहीबार उपचारका क्रममा उनको काठमाडौँमा निधन भएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।
यसैगरी एमाले अध्यक्ष ओलीले पार्टीका नेतृ दुलारीदेवीको पार्थिव शरीरमा आज पार्टीको झन्डा तथा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि दिनुभयो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले पनि श्रद्धाञ्जलि दिदैं उहाँको असामयिक निधन भएकोमा दुःख व्यक्त गर्नुभयो ।
उहाँको शव अन्त्येष्टिका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृह जिल्ला सर्लाहीतर्फ लगिएको पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
चैत ११ गते ।