माओवादीले जनयुद्धमा प्रयोग गरेका ठूलो परिमाणमा हतियार फेला

 

भोजपुर । तत्कालीन नेकपा माओवादीले दश वर्षे सशस्त्र द्वन्द्वमा प्रयोग गरेका हातहतियार भोजपुरमा भेटिएका छन्। साल्पासिलिछो गाउँपालिका ५ आहाले स्थित आङगेलु शेर्पाको घरको बाकसमा राखिएको अवस्थामा ठूलो परिमाणमा जनयुद्धमा प्रयोग भएका हातहतियार भेटिएका हुन्।
नम्बरको एयरगन १, आरएल वम १, सकेट बम १३, सकेट बम फिट गर्ने मेसिन, भरुवा बन्दुकको बट, थ्री नट थ्री राइफलको खोका १२, एसएलआर १२, एके ४७ खोका र १३, वाकिटके चार्जर पाँच थान र किताब तथा महत्वपूर्ण दस्तावेज फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निमिक्त प्रमुख प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए। प्रहरीका अनुसार रणबम गण भोजपुरले धरानबाट डिस्पोजल टोली बोलाएर बरामत सामाग्री जिम्मा लगाएको छ।
जनयुद्धको समयमा घरमा ताला लगाएर काठमाडौँ आएका आङगेलुको घरलाई माओवादीले ताला फुटाएर प्रयोग गर्दा छाडेर गएको हुनसक्ने स्थानीय दिक्पाल राईले बताए। खालीघरमा आङगेलुका भतिज काजी शेर्पा गत वर्षदेखि बस्न थालेका थिए।
काजीकी श्रीमती छिमी शेर्पाले थाक्रोको मकै छोडाएर बाकसमा राख्न खोज्दा सामाग्री देखेपछि प्रहरीलाई खबर गरेकी हुन्। कालो बाकसमा भरी सामान देखेपछि आफूलाई शंका लागेर प्रहरीलाई जानकारी गराएको काजीले बताए।फेलापरेका सामाग्री अधिकांश काम नलाग्ने अवस्थामा पुगेको प्रहरीको भनाइ छ। द्वन्द्वताका माओवादीले घरलाई आफ्नो बनाएर प्रयोग गरेका थिए। गाउँगाउँमा यसरी छाडिएका हातहतियार अझै पनि हुनसक्ने आशंका प्रहरीले गरेको छ। हातहतियार भएको थाहा भएमा वा शंका लागेमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
चैत १२ गते ।