राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा. श्रेष्ठ बैंकक प्रस्थान
काठमाडौं, १५ चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोगले यही मार्च २९ देखि ३१ तारिकसम्म थाइल्याण्डको बैंककमा आयोजना गर्न लागेको दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ मा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरे । उपाध्यक्ष डा. श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु विषयको सत्रको अध्यक्षता गर्नुहुनेछ भने सोही दिन उहाँले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिनेछन् ।
दोस्रो दिन उपाध्यक्ष डा. श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरणसम्बन्धी सत्रको सहजीकरण गर्नुहुनेछ भने तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणको लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी विषयको सत्रमा मुख्य वक्ताको रुपमा भाग लिनेछन् । एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने सो फोरममा नेपालको तर्फबाट भाग लिने उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लाल शंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत माननीय खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहेका छन् । उपाध्यक्ष डा. श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।