टेलिकमले ब्यालेन्स सापटी दिने

maitrinews

काठमाडौं, १५ चैत । नेपाल टेलिकमले जिएसउम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई व्यालेन्स नहँुदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित टायक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीचसम्झौता सम्पन्न भएको छ । यसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यापलेन्समा लोन रकम उपलब्ध हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरे । कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको हो । यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने देखिन्छ । यसबाट मोबाइलमा ब्यालेन्स सकिएको अवसथामा पनि आफन्तजनसँग कुराकानी गर्न सहज हुनेछ । सम्झौता अनुसार यो सुविधा सम्झौता भएको मितिले ५ महिना भित्रमा सञ्चालन गर्ने लक्ष्य रहेको छ ।