एमालेविरुद्ध डरलाग्दो गुटबन्दी, गुटबन्दीले एमाले डराउँदैन, निर्वाचनमा जित एमालेकै हुन्छ : पोखरेल

 

धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीविरुद्ध डरलाग्दो गुटबन्दी भएको बताउनुभएको छ । चारैतिरबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उहाँले यसबाट आफूहरु रत्तिभर नआत्तिएको उल्लेख गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल धनकुटाले आज बिहान सदरमुकाममा गरेको पत्रकार भेलामा पोखरेलले उक्त कुरा बताउनुभएको हो । स्वतन्त्र विद्यार्थीको निर्वाचनदेखि स्थानीय तहको निर्वाचन आइपुग्दासम्म विभिन्न दलले चरम गुटबन्दी गरेको भन्दै उहाँले यसलाई फलेको रुखमा मात्र ढुंगा हानिएको संज्ञा दिनुभयो । अविचलित यात्राले लक्ष्य चुम्ने उहाँको दाबी थियो । ‘एमाले माथि जति गुटबन्दी र मोर्चाबन्दी हुन्छ, उति आफूहरु संगठित हुन बल पुग्ने छ’ उहाँले भन्नुभयो, ‘कमजोर मनस्थिति भएकाहरु गुटबन्दी गर्छन् ।’ जतिसुकै गुटबन्दी गरे पनि चुनावमा एमालेकै जित हुनेछ ।

फरक प्रसँगमा महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन गराउन नदिने भन्नेहरु फासिस्ट चरित्रको भएको आरोप लगाउनुभयो । उहाँले निर्वाचन जुनसुकै हालतमा पनि हुने दाबी गर्दै चुनावबाट भाग्नेले सदाका लागि आफ्नो हैसियत गुमाउने बताउनुभयो ।

संविधान प्रभावकारी कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकोले सबैपक्ष यसमा जुट्न उहाँले आग्रह गर्नुभयो । केन्द्रको अधिकार जनतामा पुग्ने महत्वपूर्ण बाटो निर्वाचन भएकोले यसको महत्व रहेको पोखरेलले बताउनुभयो ।

यसैगरी मधेसी मोर्चाले द्वैध चरित्र बोकेको भन्दै उहाँले एकातर्फ निर्वाचनमा भाग नलिन भन्ने र अर्कोतर्फ भित्रभित्रै निर्वाचनमा होमिने तयारी गरेको उहाँको भनाइ थियो । संविधान संशोधन बेमौसमी बाजा भएकोले यसको औचित्य नभएको उनको ठम्याई थियो । महासचिव पोखरेलले प्रदेश सीमा हेरफेर प्रदेशसभाले मात्र गर्न सक्ने भन्दै यस्ता विषयमा अलमल नगर्न मधेसी मोर्चालाई सुझाव दिनुभयो ।