संघीयताविनाको समाजवाद प्राण विनाको शरीर : श्रेष्ठ

 
काठमाडौँ । संघीय समाजवादी फोरम, नेपाल काठमाडौँ नागार्जुन नगर समितिको प्रथम एकता अधिबेशन समितिका पूर्व अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा सितापाइला पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त अधिबेशनले अर्जुन गिरीको अध्यक्षतामा २१ जनाको नागार्जुन नगर समिति निर्वाचित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल आजभन्दा ३०० बर्ष पहिले अमेरिकाभन्दा पनि धेरै सम्पन्न भएको बताउँदै नेपालमा आन्तरिक रूपमा नश्लीय शासन सुरु भएपछि बिकासमा पछि परेको समेत बताए । नेपालका पुराना दलहरूमा एकल जातीय नेतृत्व र वर्चश्व रहेकाले उत्पीडित समुदायहरूले पनि जातीय पार्टीहरू खोलेर गल्ति गरेको भन्दै उनले भने – नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउन समानुपातिक समावेशी राष्ट्रिय चरित्रको पार्टी आवश्यक भएकाले ससफो नेपालको स्थापना भएको बताए । उनले यसलाई सशक्त बनाउन सङ्घीय समाजवादलाई सिद्धान्तको रूपमा स्वीकार्ने पार्टीहरूसँग सहकार्य गर्दै पार्टी एकीकरण गरेर अगाडी बढ्ने बताए ।
उनले नेपालमा काङ्ग्रेस कम्युनिष्ट पार्टीहरूले समाजवादको कुरा गरे पनि सङ्घीय शासनलाई अन्तरमनले स्वीकार नगरेको भन्दै नेपाल जस्तो वहुराष्ट्रिय मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राण विनाको शरीर जस्तो भएको बताए । उनले समाजवादमा सङ्घीय शासनलाई आत्मसात गरेकाले ससफो नेपालले उत्पीडित राष्ट्रियताहरूको मुक्तिका साथै देशलाई आर्थिक विकास र समृद्धिको दिशामा लाने बताए ।
प्रमुख अतिथि श्रेष्ठले गर्भमै रहँदा तराइ मधेसमा ४० जना नेपालीको रगत पिएको अहिलेको संबिधानले ५ दर्जनभन्दा बढी जनताको रगत पिइ सकेको बताउँदै अव पनि यसको परिमार्जन र संशोधन नगरे जनताको आन्दोलनले यो संविधान नै खारेज गर्ने बताए । उनले यो संविधान नै विभेदकारी भएकाले संविधान परिमार्जन सहित संशोधन नगरी, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र नबनाई, प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निर्वाचन केन्द्रले नै घोषणा गरी सङ्घीयताको सिद्धान्त, त्यसको मर्म र भावना विपरीत काम गरेको हुनाले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित नहुँदा सम्म यो संबिधान कार्यान्वयन हुन नसक्ने र जवर्जस्ती गरे देशमा जन विद्रोह हुने बताए ।
नागाजुन नगरपालिकाका पूर्व अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समितिका सदस्य द्वय राजन केसी, प्रेम वहादुर थापा, केन्द्रीय सदस्यहरू लाल वहादुर तामाङ, पवित्र वज्राचार्य, न्हुच्छेलाल महर्जन, रमेशचन्द्र प्रधान, कृष्ण कुमारी वाइबा, युवराज भट्टराई, रामवहादुर नेपाली, पूर्व गाविस अध्यक्ष तथा स्थानीय नेता विनोद श्रेष्ठ, जिल्ला अध्यक्ष मनरत्न शाक्य लगायतका नेताहरूले पनि शुभकामना दिएका थिए । अधिवेशनको अन्त्यमा नव निर्वचित समितिलाई सहअध्यक्षले शपथ ग्रहण गराए भने पूर्व अध्यक्ष हिराकाजि महर्जनले नव निर्वाचित अध्यक्षलाई माइन्युट हस्तान्तरण गरे ।
चैत २१ गते ।