निरीह प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकसमेत बोलाउन सकेनन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक नै नबोलाई चीनको औपचारिक भ्रमण गरे । नेपालको इतिहासमा सरकार प्रमुखको बैदेशिक भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन नगरी भएको यो पहिलो घटना थियो । प्रधानमन्त्री दाहालले बोआओ एसिया फोरममा चैत १० मा सहभागि हुन जानुअघि दुईपटकसम्म मन्त्रिपरिषद् बैठक बोलाएको सार्बजनिक भयो । तर अन्ततः बैठक भने भएन ।
सरकार प्रमुखको चीन भ्रमण अहिले मन्त्रिपरिषद्को रेकर्डमै छैन । भ्रमणका एजेण्डा के के थिए, भ्रमण दलमा को को सहभागि थिए र त्यसमा राज्यको कति राशी खर्च भयो भन्ने मन्त्रिपरिषद्लाई थाहा छैन । यहाँभन्दा बिडम्बना के हुन्छ ? किन यस्तो अवस्था आयो ? यसमा दुईवटा कारण छन् । पहिलो कारण, दुईजना उपप्रधानमन्त्री कांग्रेसका विमलेन्द्र निधि र राप्रपाका कमल थापाबीचको मर्यादाक्रमको बिबाद । पहिले त निधिले आफू अघिल्लो वरियतामा रहनु पर्ने निकै ढिपी गरे तर, आफ्ना पार्टी सभापति देउवाको पनि कमल थापालाई अघिल्लो वरियता दिने सहमति दिएको थाहा पाए तव उनको अडान शिथिल हुन पुग्यो । दुई उपप्रधानमन्त्रीको मर्यादाक्रमको विवादले उपप्रमलाई शक्तिशाली र प्रधानमन्त्रीलाई निरिह सावित गरिदियो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक राखे कि यिनको मर्यादाक्रम तोकिहाल्नु पर्ने भयो, जो उनी गर्न सक्दैनन् ।
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कदै थिए । त्रिभुवन बिमानस्थलमा मर्यादाक्रमको महाभारत मञ्चन भयो । प्रधानमन्त्रीलाई स्वागत गर्न गएका तीन उपप्रमहरु निधि, थापा र कृष्णबहादुर महराले त्यहाँ देखाएको व्यवहारले राष्ट्रलाई लज्जित बनायो । चलाख थापा पहिला नै उपप्रमहरुमध्येको पहिलो मर्यादामा उभिएपछि दोश्रोमा उभिंदा इज्जत नै जाने डरले निधिले महरालाई तानेर दोश्रोमा राखिदिए र आफू उपप्रमको तेश्रो मर्यादाक्रममा गएर उभिए । महराले दोश्रोमा तान्न खोजे, तर सकेनन् । अलिकति पनि नैतिकता यी तीन जनासँग हुन्थ्यो भने यस्तो नाङ्गो दृश्य मञ्चन गर्ने थिएनन्, तर गरे । पत्रकार सम्मेलनमा थापा बसे, निधि बसेनन् । वास्तवमा यो प्रधानमन्त्रीप्रतिको अपमान पनि थियो । तर कमजोर प्रधानमन्त्रीमा यस्तो सामथ्र्य नै थिएन । त्यही भएर त्यो सरकारभित्र छलफलको बिषय समेत बनेन ।
चैत २१ गते ।