सेतो मच्छिन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन आर्यावलोकितेश्वर भनिने सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने गर्छ । आज सेतो मन्छिन्द्रनाथको रथ काठमाडौं जमल नजिकको तीनधारा पाठशालाबाट तानेर रथयात्रा शुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । रथयात्राको लागि मूर्तिलाई केलटोलमा रहेको मन्दिरबाट बोकेर तीनधारा पाठशाला पुर्याइने गरिन्छ ।
यसैगरी , आज काठमाडौं उपत्यकाका चार लोकेश्वरमध्ये चोभारको आनन्दादी लाकेश्वरको जात्रा हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन आनन्दादी लाकेश्वरको जात्रा हुने गर्दछ । जात्राको लागि विहान चोभारमा रहेको दोभानमा द्य लायेगु भनेर देवतालाई कलशमा राखेर ल्याइएको पुुजारी सरोज शाक्यले बताउनुभयो । दिउँसो लोकेश्वरको मूर्तिलाई चोभारको विभिन्न ठाँउमा खटमा राखेर बाजागाजासहित परिक्रमा गरिनेछ ।
रंगरोगन गरिएको मूर्तिको अनुहारमा हिजो आँखा कोरेपछि विशेष पुजा गरिएको शाक्यले बताउनु भयो । जात्राको एक दिन अघि मूर्तिबाट निकालेर ब्रम्हक्वं भनिने कलशमा राखिएको देवताको जीवन्यास फेरि मूर्तिमा नै प्रतिस्थापन गर्न विशेष पुजा गरिने चलन छ । त्यस्तै हिजो लोकेश्वरलाई मानिसलाई जस्तै जन्मेदेखि गरिनु पर्ने दश कर्म संस्कार पनि गरिएको थियो ।
उपत्यकाका चार लोकेश्वर मध्ये सबैभन्दा पहिले नालाको लोकेश्वरको जात्रा हुने गर्दछ भने त्यसपछि काठमाडौंको सेतो मच्छिन्द्रनाथ र चोभारको आनन्दादी लोकेश्वरको जात्रा हुन्छ । त्यसपछि मात्र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा हुने गर्दछ ।
चैत २२ गते ।