सरकारले सर्वोच्चको परमादेश मानेन,आईजीपी बनाउन गृहमा सिलवालको निवेदन
काठमाडौँ । प्रचण्ड सरकारले सर्वोच्च अदालतको परमादेश मानेन । सर्वोच्चको आदेश अनुसार नयाँ आईजीपी बनाउनुपर्नेमा सो कार्य नगरेपछि डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिनुभएको छ ।
उहाँले गृहमा निवेदन दिँदै सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गर्नुभएको हो ।
उहाँले सर्वोच्चको फैसलाको कपी समेत पेश गर्नुभएको छ । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।
सर्वोच्चको त्यही फैसलामा चार आर्थिकको कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा सिलवाल रहेको उल्लेख थियो । तर, डीआईजी सिलवालको निवेदनमा गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
आईजीपी प्रकरणमा मुद्दा हालेका कपिल ढकालले भने सरकारले निर्णय गर्न ढिलाई गरेको बताउँदै अब मन्त्रिपरिषद् बैठक बसेर पनि सर्वोच्चको आदेश अनुसार निर्णय नभए अवहेलनाको मुद्दा हाल्ने बताउनुभयो ।
‘अहिले मन्त्रिपरिषद् नै नबसेकाले हामीले अवहेलनामा जाँदैनौं । तर, बैठक बसेर पनि निर्णय गरेन भने सर्वोच्चमा जान्छु ।’ उहाँले भन्नुभयो ।
चैत २२ गते ।