अर्को वर्षदेखि पूर्णरुपले लोडसेडिङ अन्त्य हुने घिसिङको दावी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्को वर्षदेखि पूर्णरुपमा लोडसेडिङ अन्त्य हुने दाबी गर्नुभएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अबको दुई तीन बर्षभित्र नेपालमा आफ्नै उत्पादनबाट १२ सय मेगावाट बिजुली थपिने बताउनुभयो ।
अर्को वर्ष ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी जलबिद्युत आयोजनाले उत्पादन थाल्ने, निजी क्षेत्रका जलबिद्युत आयोजनाहरुबाट समेत २ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उहाँले जानकारी दिनुभयो ।
अर्को वर्षदेखि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुक्त हुँदै निर्यात गर्ने अवस्थामा पुगिने उहाँको भनाइ छ ।
अहिले सुख्खायाम भए पनि देशैभरी रातीको समयमा लोडसेडिङ नभएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
अहिले औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा लोडसेडिङ भइरहेको छ, अब बिस्तारै त्यसको पनि अन्त्य गर्नेतर्फ प्राधिकरण लागिरहेको छ ’, उहाँले भन्नुभयो ।
चैत २२ गते ।