केरुङको पहिरोले रसुवागढी नाका अबरुद्ध,नेपाली समाना अलपत्र

रुसुवागढी । चीनको केरुङमा पहिरो गएका कारण रसुवागढी नाका सुचारु हुन नसक्दा नेपाली सामान अलपत्र परेका छन् । सुख्खा पहिरोले अवरुद्ध बनेको चीनको रेसुओपोर्ट—केरुङ सडक खण्ड सुचारु हुन सकेको छैन । चीनले पहिरोग्रस्त क्षेत्र ठोङसाभन्दा मुनि रहेको स्थानमा सुरुङ मार्ग बनाउने क्रममा पहरो विष्फोट गराउँदा झरेको सुख्खा पहिरो पन्छाउन अझै केही दिन लाग्ने भएको छ ।
चीनका विभिन्न सहरबाट ल्याइएका सामान रसुवागढीनाकादेखि २९ किलोमिटर पश्चिमोत्तर भाग पाङसिङ छन् । त्यहाँ स्याउ, रेडिमेट लुगा, ज्याकेट, जुत्ता, खेलौना जलविद्युतका सामान र स्थानीय चुनावका लागि ल्याएको मतपेटिका छन् । रसुवागढीदेखि चीनको केरुङ २४ किमी छ ।
केरुङभन्दा ५ किलोमिटर फराकिलो ठाउँमा पाङसिङ पर्छ । जहाँ चिनियाँ व्यापारी एजेन्टमार्फत चीनीया सामान लोडअनलोड गरी नेपाली कन्टेनरमा राखि नेपालतर्फ रसुवागढी नाका आयात हुने गर्छ ।
मितेरी पुल चीनको भन्सार कार्यालय रहेको रेसुओपोर्टदेखि १२ किलोमिटर पश्चिमोत्तर पहिरोग्रस्त क्षेत्र पर्छ । उक्त पहिरो चिछोल्न चीनले ३ सयमिटर सुरुङ निर्माण कार्य जारी राखेको छ । एकसयमिटर भन्दा बढी सुरुङ निर्माण गरिसकेको छ ।
चीनको केरुङ र पाङसिङमा गरी १ सय ५० जना नेपाली चालक र सहचालक पैदल हिंडेर रसुवागढी फर्किसकेका छन् भने ५०र६० जना मात्रै केरुङमा छन् ।
सिन्धुपाल्चोक ०७१ साल जुरेमा पहिरो गएर नाका बन्द भएपछि नेपालको उत्तरतर्फ एउटा रसुवागढी नाका सञ्चालनमा आएको हो । रसुवागढी नाका लिच्छविकाल र मल्लकालमा समेत उतिकै चलेको नाका हो ।

चैत २५ गते ।