मधेसका केही नेताका कारण देश बर्बादतर्फ गइरहेको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई मधेसका मसिहा ठान्ने दलका केही नेताका कारण देश बर्बादीतर्फ गइरहेको बताउनुभएको छ ।एमालेको राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरिरहेको दाबी गर्नुभयो । ओलीले एमाले गणतन्त्र, धर्म निरपेक्षता मान्ने पार्टी भएपछि सवै दल तर्सिएर एमालेको खेदो खन्ने गरेको बताउनुभयो ।
देशमा बुद्धिजीवीहरुको संख्या ठुलो भए पनि उनीहरुले कसले ठीक र कसले बेठिक गरेको हो भनेर छुट्याउन नसकेको बताउँदै ओलीले भन्नुभयो, ‘देशमा भीमकाय बुद्धिजीवीहरु छन्, देश केही दल र व्यक्तिका कारण बर्वादीतर्फ गइरहेको छ, तर त्यो भ्रम चिर्न बुद्धिजीवीहरुको होस पुगेको छैन ।’
कार्यक्रमलाई सम्बोधनका क्रममा अधिकांश समय मधेसी मोर्चा आबद्ध दलहरुलाई समय खर्चेका अध्यक्ष ओलीले आफुले मधेसीलाई बिहार जाउ भनेर भनेको भन्दै केही नेताले गोहीका आँशु चुहाएको बताउनुभयो । उहाँले मधेसीलाई बिहार जाऊ भनेर कहिल्यै नभनेको दावी गर्दै एमाले र मधेसको साइनो अत्यन्त गाँढा भएको र मधेसी जनतालाई आफु सधैँ सम्मान गर्ने पनि बताउनुभयो । राष्ट्रिय जनसाँस्कृतिक संघमा आबद्ध कलाकर्मीलाई स्थानीय चुनावमा होमिन निर्देशन दिएका ओलीले ७४ साल एमालेको साल हुने दावी समेत गर्नुभयो ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।”

अध्यक्ष ओलीले “देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन,” भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताउनुभयो ।

यहाँका केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उहाँले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पार्नुभयो ।

“हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्”, उहाँले भन्नुभयो – “पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।”

कार्यक्रममा अध्यक्ष ओलीले संस्कृतिविद् शङ्कर पोखरेल (मोरङ)लाई नगद रु २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ र रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गर्नुभयो ।

चैत २५ गते ।