स्वीडेनमा आतंकवादी आक्रमण,तीन जनाको मृत्यु , कयौँ घाइते

स्वीडेन । स्वीडेनको राजधानी स्टकहोमको मध्य भागमा एउटा लरी एउटा पसलमा ठोक्काइँदा कम्तीमा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ। ड्रोटनिङ्गटनमा भएको सो घटनामा अरु कैयौं घाइते भएका छन्।
स्वीडेनका प्रधानमन्त्री स्टेफन लफ्भेनले त्यो आतंकवादी हमला भएको बताउनुभयो। प्रहरीले एकजना सन्दिग्ध ठानिएको व्यक्तिको सिसिटिभि तस्वीर सार्वजनिक गरेका छन्।
सो लरी स्वेडिश ब्रुअरी कम्पनी स्पेन्ड्रप्सको भएको र एउटा रेष्टुराँका लागि आफ्नो उत्पादन पुराउन जाँदा बाटैमा अपहरणमा परेको जनाएको छ।
स्थानीय समय अनुसार दिउँसो तीन बज्नु केही अघि उक्त लरी एलेन्स डिपार्टमेन्ट स्टोरमा लगेर ठोक्काइएको थियो।
ड्राइभरले सामान झार्दै गर्दा एक अज्ञात व्यक्तिले ड्राइभरको क्याबीनमा चढेर सो लरी लिएर भागेको बताइएको छ।
शहरको अर्को भागमा गोली चलेको आवाज सुनिएको थियो। तर प्रहरीले ती दुई घटनाबीच कुनै सम्बन्ध नभएको जनाएका छन्।