सरकारव्दारा संविधान संशोधनको नयाँ मस्यौदा तयार,मोर्चासँग भने सहमति हुन बाँकी

काठमाडौँ । प्रचण्ड सरकारले मधेसी मोर्चालाई मनाउन संविधान संशोधन विधेयक फिर्ता लिई नयाँ संशोधन विधेयक तयार गरेको छ ।
मस्यौदामा समेटिएका केही बुँदामा कुरा मिल्न बाँकी रहेको जनाउँदै कानुनमन्त्रीले त्यसमा सहमति गरेर आउँदो मन्त्रिपरिषद् बैठकबाट विधेयक सदनमा पठाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
तर प्रधानमन्त्रीले बिहीबार नै विधेयकको मस्यौदाबारे छलफल गर्ने वचन दिए पनि अझैसम्म खबर नआएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एकजना नेताको भनाई छ।
संघीय गठबन्धन र मोर्चासँग भएका कुराकानीका आधारमा प्रधानमन्त्री प्रचण्डले विधेयक तयार गर्न कानुन मन्त्रालयलाई निर्देशन दिनुभएको थियो।
कानुनमन्त्री अजयशंकर नायकले भन्नुभयो,मोर्चासंग सहमतिको नजिक नजिक पुगेर हामीले मस्यौदा गरेका छौं। आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पुरानो विधेयक फिर्ता लिएर सहमति जुटेमा नयाँ दर्ता गराउने मनस्थितिमा छौं।
आफूहरुसँग भने त्यसबारे छलफल नगरिएको मोर्चाका एक नेताको भनाइ छ।
तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल आफूहरु त्यसको प्रतिपक्षामा रहेको बताउनुभयो । दस्तावेज हामीलाई देखाउन बिहीबार नै खबर गर्ने भन्नु भएको थियो। तर अहिलेसम्म जानकारी आएको छैन, हामी प्रतीक्षामा छौं।