मुल्यवृद्धिको चापमा कमी ब्यापार घाटा उच्च, शोधनान्तर वचत घट्यो

काठमाडौं । पछिल्लो समयमा मुलुकमा मुल्यवृद्धि चाप कम भएको तथ्याङक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बैंकले आइतवार चालु आर्थिक बर्षको आठ महिनासम्मको तथ्याङक सार्वजनिक गर्दै फागुन महिनामा उपभोक्ता मुल्यवृद्धिदर २.९ प्रतिशत रहेको जनाएको छ । २०७२ फागुन महिनामा सो मुद्रास्फीति १०.२ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकको अनुसार क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौं उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४७.६ प्रतिशतले बढी ५८० अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा कुल वस्तु आयात ४४.२ प्रतिशतले बढेर ६२८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ ।
आर्थिक बर्ष २०७३÷७४ को आठ महिनासम्ममा कुल वस्तु निर्यात १२.८ प्रतिशतले वृद्धि भई ४८ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई रु. ४४९ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ८.४ प्रतिशतले वृद्धि भई रु. ५४२ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९ प्रतिशतले बढेको थियो ।
अघिल्लो बर्षको आठ महिनामा १३८ अर्ब ५५ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण ६ अर्ब ३१ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको आठ महिनासम्ममा १५८ अर्ब १८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ५० अर्ब ६ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १०३९ अर्ब २१ करोडबाट ३.४ प्रतिशतले वृद्धि भई २०७३ फागुन मसान्तमा १०७४ अर्ब २७ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको ८८७ अर्ब १ करोडको तुलनामा २०७३ फागुन मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ९१५ अर्ब ३१ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १५२ अर्ब २० करोडको तुलनामा ४.४ प्रतिशतले वृद्धि भई १५८ अर्ब ९६ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७३÷७४ को आठ महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ४२ अर्ब ४५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३१ अर्ब ७५ करोड रहेको थियो ।
सरकारी खर्च द्दछ। समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५७.५ प्रतिशतले वृद्धि भई ३७४ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६.५ प्रतिशतले बढेर २३८ अर्ब ११ करोड पुगेको थियो ।
चैत २८ गते ।