संविधान संशोधनको नयाँ प्रस्ताव बेमौसमी बाजा : एमाले

इलाम । नेकपा एमालेले स्थानीय तहको चुनाव दुई चरणमा गर्न खोजिए मान्य नहुने बताएको छ । साथै स्थानीय तहका प्रमुख उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट हटाउने प्रस्ताव मान्य नहुने प्रष्ट पारेको छ ।
एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले आज इलाममा पत्रकार सम्मेलनमार्फत दुई चरणको चुनाव स्वीकार्य नहुने बताउनुभयो ।
प्रेस चौतारी इलाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भन्ने कुरामै चुनाव नगराउने षड्यन्त्र लुकेको छ । यसमा हामी सहमत हुन सक्दैनौं ।’
नेम्वाङले संविधान संशोधनको नयाँ प्रस्तावमा एमाले पनि सहमत भएको भनेर प्रधानमन्त्री प्रचण्डले झेली कुरा गरेको दावी गर्नुभयो ।
उहाँले संविधान संशोधनको नयाँ विषय बस्तुमा प्रधानमन्त्रीले एमालेसँग छलफल नगरेको भन्दै उहाँले भन्नुभयो, ‘संशोधनको विषयमा पनि चाइना जानुअघि सामान्य कुरा भएको थियो । प्रधानमन्त्री फर्केर आएर केही कुरा भएको छैन । एमालेको सहमतिमै गर्छु भन्दै हुनुहुन्छ, झेली कुरा हो । हामीलाई कुनै जानकारी छैन ।’
मन्त्रिपरिषदको बैठक समेत बस्ने नसक्ने, अदालतको फैसलापछि पनि नेपाल प्रहरीका आईजिपी नियुक्त गर्ने नसक्ने र उपप्रधानमन्त्रीको बरियता समेत निर्धारण गर्न नसक्ने सरकारको कुरा गर्नु अर्थ छैन ।’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले चुनावका लागि संविधान संशोधनको आवश्यकता नरहेको भन्दै अहिले संशोधनको बेमौसमी बाजा बजाउन खोजिएको टिप्पणी गर्नुभयो । । उहाँले एमालेमा उम्मेदवार छनोटमा कुनै विवाद नरहेको स्पष्ट गर्नुभयो ।
चैत २८ गते ।