स्थानीय तहको संख्या हेरफेर गरिए बैशाख ३१ मा चुनाव असम्भव : आयोग

काठमाडौँ । निर्वाचन आयोगले कुनै जिल्लामा स्थानीय तहको संख्या हेरफेर गरिए त्यस्ता जिल्लामा वैशाख ३१ गते नै चुनाव गर्न नसकिने जनाएको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई मनाउन तराईका केही जिल्लामा स्थानीय तहको संख्या थप्न सरकार तयार देखिएका बेला आयोगको त्यस्तो चेतावनी दिएको हो।
प्रमुख निर्वाचन आयुक्तका अनुसार तोकिएकै समयमा चुनाव गर्ने भए स्थानीय तह नथप्न आयोगले सरकारलाई आग्रह गरिसकेको छ।
मोर्चाको माग अनुसार मंगलबार संविधान संशोधन गर्न नयाँ विधेयक दर्ता गरेको सरकार त्यससँगै अध्ययन टोली गठन गरेर तराईका जिल्लामा स्थानीय तह थप्न अग्रसर भएको देखिएको छ।
तर स्थानीय तहको संख्या थप्दा मतदाता परिचयपत्र छाप्ने लगायतका धेरै काम प्रभावित हुने आयोगको भनाइ छ।
त्यसैले थपघट गरिने जिल्लामा निर्धारित मितिमा चुनाव सम्भव नहुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताउनुभयो ।
नेपाल सरकारले त्यस किसिमबाट संरचनालाई बढाउने काम गर्यो भने मतदाता नामावली छाप्ने काम प्रभावित हुन्छ। त्यसपछि ३१ गते ती ठाँउहरुमा चुनाव गर्न सम्भव छैन उहाँले भन्नुभयो ।

चैत ३० गते ।