प्रचण्ड सत्ताको लाचारछाँया : श्रेष्ठ

काठमाडौँ । नेवाः प्रदेश स्तरीय पार्टीको सङ्गठनात्मक कार्य योजनाका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी विचार, सङ्गठन र सङ्घर्षको केन्द्र हुनुपर्ने बताएका छन् ।
उनले नेपालका समाजवादी र साम्यवादी भन्ने काङ्ग्रेस कम्युविष्टहरूले युरोपका एकल राष्ट्रिय राज्यहरूको समाजवादी मोडेलको नक्कल गरेकाले असफल भएको बताउँदै हाम्रो जस्तो बहुराष्ट्रिय देशमा सङ्घीयता सहितको समाजवाद हुनु पर्ने बताए । उनले भने ‘एकात्मक राष्ट्र–राज्यको समाजवादको नक्कल गर्नु जुत्ताको आधारमा आफ्नो खुट्टा काटनु’ जस्तै हो । उनले निकट भविष्यमा यहाँका शासकहरूको साटो खाने गरी सङ्घवाद र समाजवादलाई सिद्धान्तको रूपमा स्विकार्ने विभिन्न दलहरू एकीकृत भई सशक्त बैकल्पीक राजनीतिक शक्ति निर्माण हुने भन्दै यसले नेपालको उत्पीडित समुदाय र श्रमजीवी वर्गलाई उत्सहित गर्ने बताए ।
उनले सरकारले दर्ता गरेको वर्तमान संविधान संशोधन प्रस्ताव अधुरो र त्रुटिपूर्ण रहेको छ भन्दै त्यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने बताए । उनले राज्यले सिंहदर्वारमा नेपालीको नाममा पर्वते–गोर्खा भाषालाई मात्र स्थान दिएको, प्रदेशको भाषा प्रयोगको अधिकारलाई समेत केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने गरी झन प्रतिगामी संशोधन दर्ता गरेको, सङ्घीय आयोगलाई सङ्घीय संरचना पुनराबलोकन गर्न सक्ने गरी समानुपातिक समावेशी र अधिकार सम्पन्न नबनाएको, तथा धारा २७४ को संशोधनले पनि नयाँ प्रदेश सृजना गर्ने अधिकारलाई प्रायः असम्भब बनाएको बताए । उनले प्रधानमन्त्री दाहाल कुरामा अग्रगामी देखिए पनि काममा पुरानो यथास्थितिवादी सत्ताको लाचार छायाँ जस्तो भएको आरोप लगाए । सङ्घीयतामा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रहरू गहना मात्र होइनन्, राज्यका विशेष तह हुन् भन्दै संविधानमा अरु सङ्घीय मुलुकमा जस्तो स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रहरूलाई राज्यको विशेष तहको मान्यता नदिएको, तिनीहरूको अधिकारको अनुसुची संविधानमा नराखेको तथा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र नराखी प्रदेश सरह सङ्घीय रूपमा राखेकोमा आपत्ति जनाए । उनले भने ‘यो सङ्घीयताको नाममा एकात्मकताकै पुनरावृत्ति हो ।’
कार्यशाला गोष्ठिका संयोजक तथा नेवाः प्रदेश इन्चार्ज कृष्ण वहादुर घःजुको अध्यक्षतामा भएको उक्त सङ्गठनात्मक कार्यशालामा पार्टी महासचिव रामसहाय प्रसाद यादवले पार्टीको विचार मात्र ठीक भएर हुँदैन त्यसलाई सङ्गठनात्मक शक्तिमा रूपान्तरण गर्नु पर्छ भने । उक्त कार्यक्रममा केन्द्रीय सदस्य लाल वहादुर तामाङले स्वागत तथा सानुराजा शाक्यले धन्यवाद ज्ञापन गरेका थिए भने नेवाः प्रदेशका अध्यक्ष न्हच्छेलाल महजर्नले सङ्गठन सुदेढीकरणको कार्य योजना प्रस्तुत गरेका थिए ।
पार्टी केन्दीय सदस्य शाक्य सुरेनले सञ्चालन गरेको उक्त कार्यशालामा उपस्थित सम्पूर्ण नेता कार्यहर्ताहरूले पार्टी विस्तार तथा सुदृढीकरणका लागि गर्नु पर्ने कामहरूका सन्दर्भमा सुझव दिएका थिए । कार्यक्रमको अन्त्यमा सङ्गठन सुदृढीकरणका लागि काठमाडौँमा पार्टीका राजनीतिक समिति सदस्य डा। महेशमान श्रेष्ठ, लालितपुरका लागि केन्द्रीय सदस्य डा। पुस्पराज राजकर्णिकार, भक्तपुरका लागि केन्द्रीय सल्लाहकार त्रिरत्न शाक्य र गैरभौगोलिक राजधानी विशेष जिल्लाका लागि मञ्जु अन्सारीलाई उत्प्रेरकको जिम्मा दिएको छ । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू रमेशचन्द्र प्रधान, पवित्र वज्राचार्य, शान्त कुमार प्रधान, सीताराम साह, मिन परियार केन्द्रीय सल्लाहकार मोहनबहादुर महर्जन आदिको पनि उपस्थिति रहेको थियो ।
चैत ३० गते ।