बेलायतमा तीन वर्षअघि नै मध्यावधि चुनावको घोषणा,विश्व नेताहरुसँग कुराकानी
लण्डन । पूर्वनिर्धारित अवधिभन्दा तीन वर्षअघि नै चुनावको घोषणा गरेकी ब्रिटिश प्रधानमन्त्री थेरिसा मे ले आफ्नो निर्णयबारे विश्वनेताहरुसँग कुरा गरेकी छन्।
यही वर्षको जुनमा चुनावमा जाने मेको अप्रत्याशित घोषणापछि युरोपेली संघबाट ब्रिटेनको बहिर्गमन लगायतका विषयबारे चिन्ताहरु व्यक्त भइरहँदा उनले अमेरिकी राष्ट्रपति र युरोपेली नेताहरुसँग कुराकानी गरेकी हुन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले ब्रिटिश जनतालाई उनीहरुको चुनावी प्रक्रियाका लागि शुभकामना दिएको जनाएको छ।
कुराकानीको सूचीमा जर्मन चान्सलर एंगेला मर्केलसहित अन्य युरोपेली नेताहरु पनि थिए।
छिटो चुनाव गर्ने घोषणापछि त्यसले ब्रेक्जिट वार्ताहरुमा पार्नसक्ने असरबारे अड्कलबाजीहरु चलिरहँदा उनले पछिल्लो कुराकानी गरेकी हुन्।
विश्लेषकहरु भन्छन्, घरेलु राजनीतिमा आफ्नो स्थिति बलियो देखिएकाले अहिले चुनाव घोषणा गर्दा आफ्नो हात माथि हुने र त्यसले ब्रेक्जिट वार्ताहरुमा आफूलाई सहज हुने प्रधानमन्त्री मेले ठानेको हुनसक्छ।
उनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनबारे वार्ताहरु हुँदै गर्दा छिटो चुनाव गर्ने आफ्नो घोषणा मात्रै स्थायित्व सुनिश्चित गर्ने एकमात्र उपाय भएको बताएकी थिइन्।
जर्मन विदेशमन्त्री जिकमार गाब्रियलले चुनावले ब्रेक्जिटसम्बन्धी वार्ताहरुमा थप प्रष्टता ल्याउने अपेक्षा गरेका छन्।
युरोपेली आयोगका वार्ताकार मिसेल बार्नियले प्रधानमन्त्री मेको घोषणाले केही पनि परिवर्तन नहुने बताउँदै जुनको शुरुवातमा थालनी गर्ने तय भएको ब्रेक्जिट वार्ताहरु अघि बढाउन आफूहरु तयार रहेको बताए।
बैशाख ६ गते ।